कोशीमा समानुपातिक प्रतिस्पर्धा : सिफारिस धेरै, बन्दसूचीमा सीमित नाम

एमाले : झापाकेन्द्रित, पुरानाको पुनरावृत्ति, कांग्रेस : सीमित नाम, असन्तुष्टि कायमै

पुस १५, २०८२

पर्वत पोर्तेल

Proportional competition in Koshi: Many recommendations, limited names on the closed list

What you should know

विराटनगर — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशका अधिकांश जिल्लाबाट विभिन्न दलहरूमा समानुपातिकतर्फ ठूलो संख्यामा नाम सिफारिस गरिएका थिए । तर, तीमध्ये निकै थोरै नाम मात्रै आ-आफ्ना दलहरूको अन्तिम बन्दसूचीमा परेका छन् ।

प्रदेश समितिहरूबाट सिफारिस भएका नाममध्ये अधिकांश अन्तिम सूचीबाट हटाइएका छन् । कतिपय अवस्थामा जिल्ला वा प्रदेश कुनै पनि तहबाट सिफारिस नभएका नामसमेत बन्दसूचीमा समावेश गरिएको छ ।

उदाहरणका लागि नेकपाले झापाबाट मात्रै २९ जनाको नाम समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । तर, अन्तिम बन्द सूचीमा अधिकांशको नाम काटिएको छ । झापा क्षेत्र नम्बर-२ बाट समानुपातिकतर्फ सिफारिस भएका कार्टुनिस्ट योगेश खपाङ्गीको नामसमेत बन्द सूचीमा पर्न सकेन । उनीजस्तै धेरै सिफारिस भएका नाम अन्तिम सूचीबाट बाहिरिएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीलाई समावेशिता र अवसर वितरणको माध्यम भनिँदै आए पनि व्यवहारमा भने यो दलभित्रको शक्ति व्यवस्थापन र नेतृत्व सन्तुलनको उपकरण बन्दै गएको देखिन्छ ।

एमाले : झापाकेन्द्रित, पुरानाको पुनरावृत्ति

मुख्य दलहरूमध्ये कोशी प्रदेशबाट एमालेले सबैभन्दा धेरै नाम बन्दसूचीमा राखेको छ । अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट उल्लेख्य संख्यामा नाम समेटिनु एमालेको सूचीको प्रमुख विशेषता बनेको छ ।

मोरङका गुरु बराल, नरेश पोखरेल, झापाका सोमनाथ पोर्तेल, जितु गौतम, मेनुका काफ्ले, नीता घतानी, अनिता कन्दङ्वा, बिनाकुमारी साह, पाँचथरकी भूमिका सुब्बा तथा उदयपुरकी मञ्जु चौधरीलगायतका नाम बन्द सूचीमा परेका छन् । 

यसअघि सांसद, मन्त्री वा पार्टीका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकाहरू पुनः बन्द सूचीमा दोहोरिनुले एमालेले समानुपातिकलाई ‘अनुभवी र सुरक्षित विकल्प’ का रूपमा प्रयोग गरिरहेको संकेत गर्छ ।

पार्टीभित्र सिफारिस भएर आएका नयाँ अनुहारभन्दा अघिल्लो कार्यकालमै अवसर पाइसकेकाहरूलाई प्राथमिकता दिइनुले सूचीमा दोहोरिने प्रवृत्ति बलियो देखिएको छ । यद्यपि नीता घतानी र अनिता कन्दङ्वाजस्ता केही युवा अनुहार भने पहिलोपटक समेटिएका हुन् ।

कांग्रेस : सीमित नाम, असन्तुष्टि कायमै

कांग्रेसबाट भने कोशी प्रदेशका निकै कम नाम मात्रै बन्द सूचीमा परेका छन् । बन्दसूची प्रदेशगत रूपमा टुंग्याउने क्रममा कोशीमै विवाद चर्किएको एक नेताले बताए ।

कोशीबाट महिला कोटामा मोरङकी रुक्मिणी कोइराला, झापाकी राधा कार्की र गोमा भट्टराई, इलामकी प्रेमिका रानामगर तथा युवातर्फ सोलुखुम्बुकी गीता गुरुङको नाम बन्द सूचीमा समेटिएको छ । कांग्रेसले २०६४ यता संघ वा प्रदेशको समानुपातिक सूचीमा परिसकेकाहरूलाई यसपटक नसमेट्ने नीति लिएको दाबी गरे पनि, सीमित नामका कारण प्रदेशभित्र असन्तुष्टि भने कायमै छ ।

पाँचथरबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे आदिवासी जनजाति कोटाको पहिलो नम्बरमा परेका छन् । यसअघि दुईपटक प्रत्यक्ष निर्वाचन हारेका आङदेम्बेको समेटिनुले कांग्रेसले केही हदसम्म संगठनात्मक सन्तुलन खोजेको देखिन्छ ।

रास्वपाले मोबाइल एपमार्फत प्राथमिक निर्वाचन गराएर ६ क्लस्टरमा शीर्ष मत ल्याउने ९–९ जनाको नाम सार्वजनिक गरेको छ । त्यसमा कोशी प्रदेशबाट पनि केही नाम परेका छन् ।

खस–आर्य क्लस्टरतर्फ झापाका रमेश प्रसाईं १८ हजार २ सय २३ मतसहित पहिलो भएका छन् । आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ शीर्ष स्थानमा रहँदा खोटाङकी गायिका सत्यकला राई दोस्रो भएकी छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully