कर्तव्य ज्यान मुद्दाका फरार २५ वर्षपछि पक्राउ

धनकुटाको चौबिसे-३ का ६२ वर्षीय भीमबहादुर तामाङलाई मोरङको केराबारी गाउँपालिका-६ बाट आइतबार पक्राउ गरेको हो ।

पुस १५, २०८२

विनोद घिमिरे

Manslaughter case fugitive arrested after 25 years

What you should know

धनकुटा — धनकुटा प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई घटनाको २५ वर्षपछि पक्राउ गरेको छ।

धनकुटाको चौबिसे-३ का ६२ वर्षीय भीमबहादुर तामाङलाई मोरङको केराबारी गाउँपालिका-६ बाट आइतबार पक्राउ गरेको हो ।

तामाङलाई २०५७ कात्तिक १२ गते तत्कालीन कुरुले तेनुपा गाविस ८ हालको चौबिसे गाउँपालिका ४ का ५७ वर्षीय टंकप्रसाद पोख्रेलको कुटपिटपछि हत्या गरेको अभियोगमा धनकुटा जिल्ला अदालतले २०६६ जेठ २३ मा १० वर्ष कैद सजाय तोकेको थियो ।

मादक पदार्थ सेवन गरेका तामाङले पोख्रेललाई कुटपिट पछि तमोर नदीमा फ्याकेर हत्या गरेको प्रहरीले नजाएको छ ।

घटनापछि फरार रहेका तामाङलाई नाम र पहिचान परिवर्तन गरी मोरङको केराबारी-६ मा लुकेर बसिरहेको अवस्थामा मोरङ प्रहरीसँगको समन्वयमा पक्राउ गरी अदालत समक्ष उपस्थित गराइएको धनकुटा प्रहरीका सूचना अधिकारी किशोर तामाङले जानकारी दिए ।

प्रतिवादी तामाङले नाम समेत फेरेर मोरङ जिल्लाबाट मेघबहादुर तामाङको नाममा नागरिकता निकालेको धनकुटाका एसपी शरतकुमार थापा क्षेत्रीले बताए । यस्तै बाल यौन दुर्व्यवहार मुद्दामा २०८१ असोज २ मा जिल्ला अदालत धनकुटाले ४ महिना ११ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेका अर्का एक जना फरार प्रतिवादीलाई पनि प्रहरीले सोमबार पक्राउ गरेको छ ।

धनकुटाको पाख्रीवास १ कुँवरटोलका ६० वर्षीय माधवप्रसाद बरुवाललाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

धनकुटा प्रहरीले चालू आर्थिक वर्षको साढे पाँच महिनामा हत्या, कर्तव्य ज्यान, बलात्कार, वन पैदावार र बैंकिङ कसुरलगायत आरोपमा अदालतबाट २८ वर्ष ६ महिना २९ दिन कैद तथा १६ लाख ८७ हजार ५ सय ५० रुपैयाँ जरिवाना ठहर भएका २७ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको एसपी थापा क्षेत्रीले जानकारी दिए । यस्तै गत वर्ष धनकुटा प्रहरीले ४८ वर्ष ५ महिना १० दिन कैद र २ लाख ९९ हजार ७ सय ८० रुपैयाँ जरिवाना तोकिएका ५७ जना प्रतिवादी पक्राउ गरी अदालतमा उपस्थित गराएको थापा क्षेत्रीले बताए। 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully