हात्ती आतंकले सखरखण्ड खेती घटाउँदै दक्षिणी झापाका किसान

पछिल्ला वर्षमा जंगली हात्तीको निरन्तर आतंकका कारण किसान सखरखण्डको खेती नै घटाउन बाध्य भएका छन्।

पुस १५, २०८२

नवराज सुवेदी

Farmers in southern Jhapa are reducing sugarcane cultivation due to elephant terror

What you should know

झापा — झापाको कचनकवल गाउँपालिका–१ घेराबारीका किसान मोहम्मद आतिमलाई यतिबेला सखरखण्ड खन्न भ्याइनभ्याइ छ। खेतमा सखरखण्ड राम्रो फले पनि राति आउने जंगली हात्तीका कारण उनी हैरान छन्।

‘रात परेपछि आउने जंगली हात्तीले सखरखण्ड खनेर खान्छ,’ सखरखण्ड खन्दै गर्दा भेटिएका आतिमले भने, ‘गत वर्ष मात्रै १४ कट्ठा खेतको सखरखण्ड हात्तीले सखाप बनाइदियो।’

दक्षिणी झापाको कचनकवल क्षेत्र सखरखण्ड उत्पादनका लागि प्रख्यात मानिन्छ। तर पछिल्ला वर्षमा जंगली हात्तीको निरन्तर आतंकका कारण किसान सखरखण्डको खेती नै घटाउन बाध्य भएका छन्।
‘विगत १० वर्षदेखि सखरखण्ड खेती गर्दै आएको हुँ,’ आतिम भन्छन्, ‘पहिला अढाइदेखि दुई बिघासम्म सखरखण्ड लगाउँथेँ। यस वर्ष हात्तीको डरले १० कट्ठामा मात्रै सीमित भएँ। धेरै लगाएर के गर्नु, हात्तीले खाइदिहाल्छ।’

स्थानीय किसानका अनुसार जंगली हात्ती राति १० बजेपछि गाउँ पसेर बिहान ३–४ बजेसम्म बारीमै आतंक मच्चाउँछन्। यही कारण किसान आजित बनेका छन्।

आतिम जस्तै खेती घटाउने अर्का किसान हुन् कचनकवल–१ कै घनेश राजवंशी। अघिल्लो वर्षसम्म १० कट्ठामा सखरखण्ड लगाउँदै आएका उनले यस वर्ष २ कट्ठा घटाएर ८ कट्ठामा मात्रै खेती गरेका छन्।
‘हात्तीको डरले धेरै जमिनमा सखरखण्ड लगाउनै सकिँदैन,’ उनी भन्छन्, ‘नोक्सान अत्यधिक हुन्छ।’

भदौ १० गतेदेखि रोपाइँ सुरु गरिने सखरखण्ड मंसिरपछि खन्न थालिन्छ। यही बेला जंगली हात्तीको आक्रमण बढी हुने गरेको किसान बताउँछन्। बाली जोगाउन कतै झिलिमिली बत्ती जडान गरिएको छ त कतै तारबार लगाइएको छ। तर यी सबै उपाय पार गरेर हात्ती खेतभित्र पस्ने गरेको किसानको गुनासो छ।

राजवंशीका अनुसार रोपेको करिब तीन महिनापछि सखरखण्ड उत्पादन लिन सकिन्छ। यस वर्ष आठ कट्ठामा खेती गर्दा करिब १८ हजार रुपैयाँ खर्च भएको उनी सुनाउँछन्। उत्पादन राम्रो भएमा प्रतिकट्ठा चारदेखि पाँच मनसम्म सखरखण्ड फल्ने गरेको छ। हाल व्यापारीहरू खेतमै पुगेर प्रतिकेजी ४५ देखि ४८ रुपैयाँमा सखरखण्ड खरिद गर्छन्।

यहाँको उत्पादन मुख्यतया झापाको बिर्तामोड र सुनसरीका विभिन्न बजारमा पुग्ने गरेको छ। झापाभन्दा सुनसरीका बजारमा राम्रो मूल्य पाइने भएकाले किसान उतै बिक्री गर्न रुचाउने गर्छन्। उत्पादन राम्रो हुँदाहुँदै पनि सरकारले सखरखण्ड खेतीमा सहयाेग नदिएको किसानहरूको गुनासो छ।

परम्परागत रूपमा सखरखण्ड खाजाका रूपमा प्रयोग हुने मौलिक बाली हो। चाडपर्वमा फलाहारका रूपमा समेत यसको प्रयोग गरिन्छ। पूर्वी तराईमा यसलाई ‘सुठुनी’ पनि भनिन्छ। एक समय ‘सखरखण्डको भण्डार’ भनेर चिनिएको कचनकवल क्षेत्रमै अहिले जंगली हात्तीको समस्या र सरकारी बेवास्ताका कारण यो खेती संकटमा परेको छ।

नवराज

Link copied successfully