अलपत्र पुल निर्माण सुरु

सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन शाहका अनुसार २१ करोड ६५ लाख रूपैयाँको लागतमा तीन वर्षभित्र सक्ने गरी स्वच्छन्द–रसुवा–पप्पु जेभीले २०७३ असार ३० गते सम्झौता गरेको थियो ।

पुस १५, २०८२

डम्बरसिं राई

Construction of stranded bridge begins

What you should know

खोटाङ — अलपत्र धाप्लाङघाटस्थित सुनकोशी नदीको मोटरेबल पुल निर्माण सुरु भएको छ । खोटाङको बाराहापोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ को बीचमा पर्ने धाप्लाङघाटस्थित सुनकोशीमा स्वच्छन्द–रसुवा–पप्पु जेभीले अलपत्र पारेको पुल निर्माण सुरु भएको हो ।

सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन शाहका अनुसार २१ करोड ६५ लाख रूपैयाँको लागतमा तीन वर्षभित्र सक्ने गरी स्वच्छन्द–रसुवा–पप्पु जेभीले २०७३ असार ३० गते सम्झौता गरेको थियो । तर काम अलपत्र परेपछि उक्त ठेक्काको लिडपार्टी स्वच्छन्द निर्माण कम्पनीलाई कालो सूचीमा राखी धरौटी तानेपछि ज्वइन भेन्चरमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालिले गत मङ्सिरदेखि काम थालेको कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताए ।

Construction of stranded bridge begins

‘ठेक्का लिएर कामै नगरी अलपत्र पारेपछि सुरु गराउन ठूलै संघर्ष गर्नुपर्‍यो,’ राईले भने, ‘ठेकेदारले पावर प्रयोग गरेर मैमाथि खनिए, मैले नटेरी काम अलपत्र पार्ने निर्माण कम्पनीको धरौटी जफत गराएपछि त्यही ज्वइनभेन्चरमा भएको रसुवा कन्स्ट्रक्सनले काम थालेको हो ।’

उक्त पुलको म्याद सकिएपछि पटक–पटक थपिदै आएको छ । शाहका अनुसार पछिल्लो समय २०८४ जेठ २० गतेसम्मका लागि २०८२ असारमा थपिएको हो । उक्त पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते गरेका थिए । अहिलेसम्म करिब ४५ प्रतिशत मात्र काम भएको निर्माणमा संलग्न रसुवा कन्स्ट्रक्सन प्रालि सम्बद्ध रमेश न्यौपानले बताए । वित्तीय प्रगति भने २२ प्रतिशत मात्र भएको छ । 

Construction of stranded bridge begins

दुई सय मिटर लामो मोटरेबल पुलको ६ वटा पिलर निर्माण गर्नुपर्नेमा चार वटा सकिएको तर त्यसमध्ये एउटा पिलर वर्षाको बाढीले क्षति पुर्‍याएकाले अब तीन वटा पिलर बनाउन बाँकी रहेको न्यौपानेले सुनाए । यसबाहेक ५ वटा स्ल्याव बनाउनु पर्नेमा यो वर्ष तीन वटा सकिने र अर्को वर्ष दुई वटा सकिने न्यौपानको भनाइ छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully