साकेला गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएका संरचना निर्माणमा स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ ।
खोटाङ — साकेला गाउँपालिका पर्यटन प्रवर्द्धनमा जुटेको छ । तावाभन्ज्याङ, मपारुङभीर, धन्नेश्वरी महादेव लगायत धार्मिक सांस्कृतिक पर्यटनको विकास गरी समृद्धि हासिल गर्ने उद्देश्यले पर्यटन प्रवर्द्धनमा जुटेको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार पर्यटन प्रवर्द्धन गरी समृद्धि हासिल गर्न विभिन्न संरचना निर्माण भइरहेको छ । ‘समृद्ध साकेला निर्माण’ भन्ने मूल नाराका साथ पर्यटनको माध्यमबाट समग्र साकेलाबासीलाई समृद्धि दिलाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
पालिकामा विभिन्न कलात्मक संरचना निर्माणका साथै साकेला गाउँपालिकामा रहेका विभिन्न १३ जातजातिको सांस्कृतिक बस्तीसमेत निर्माण भइरहेको छ । साप्सुखोलामा निर्मित स्वागत गेट, आकर्षक बसस्टप, स्काइ वाक, सडक निर्देशन बोर्ड, पार्क तथा फोहरमैला व्यवस्थापनका संरचनाहरूले साकेला गाउँपालिकालाई सभ्य र विकसित पालिकाका रूपमा पहिचान दिइरहेको अध्यक्ष राईले बताए ।
निःशुल्क वाइफाइ सेवासहितको पार्क, कलात्मक चित्रकला तथा सुसज्जित सार्वजनिक संरचनाले पाहुनालाई सहजता मात्र होइन, सौन्दर्यको अनुभूति पनि प्रदान गरिरहेको राईले बताए । यसका साथै डिजिटल पहुँचसमेत विस्तार भइरहेको राईको भनाइ छ ।
साकेला गाउँपालिकामा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएका संरचना निर्माणमा स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ । ‘स्वागत गेट, बसस्टप, सडक निर्देशन बोर्ड, पार्क तथा अन्य संरचना स्थानीय स्रोत साधन, सीपबाट निर्माण गरिएको छ,’ राईले भने । यसका साथै उक्त पालिकामा ‘श्रम साकेला अभियान’ पनि सञ्चालन गरिएको छ । यसअन्तर्गत जनश्रमदानमार्फत विकास निर्माणका काम भइरहेको राईले सुनाए ।
