राप्रपा जिल्ला अध्यक्ष कुमारबहादुर थापा र केन्द्रीय सदस्य पवित्रा श्रेष्ठले छुट्टाछुट्टै लेटरप्याड प्रयोग गरी प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वार सिफारिस गरेका हुन् ।
What you should know
धनकुटा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनकुटाका अध्यक्ष कुमारबहादुर थापा र केन्द्रीय सदस्य पवित्रा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको छुट्टाछुट्टै सूची केन्द्रमा पठाएका छन् ।
राप्रपा जिल्ला अध्यक्ष कुमारबहादुर थापा र केन्द्रीय सदस्य पवित्रा श्रेष्ठले छुट्टाछुट्टै लेटरप्याड प्रयोग गरी प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वार सिफारिस गरेका हुन् ।
केन्द्रीय सदस्य श्रष्ठले पुस ६ गते पत्र लेखेर प्रत्यक्ष र समानुपातिक तर्फ ६ जनाको नाम केन्द्रीय समितिलाई पठाएकी छन् । उनले प्रत्यक्ष तर्फ आफ्नै नाम पहिलो नम्बरमा राखेकी छन् । प्रत्यक्ष तर्फ महिला तथा जनजाती कोटामा पवित्रा श्रेष्ठ, खसआर्यमा कुमारबहादुर थापा र ध्रुवकुमार छारा छन् । यस्तै समानुपातिकमा जनजातीतर्फ घामलाल राई, खसआर्यमा हरिप्रसाद घिमिरे र सूर्यमाया थापा छन् ।
जिल्ला अध्यक्ष थापाले पुस ११ मा केन्द्रीय समितिलाई पठाएको सूचीमा भने प्रत्यक्ष तर्फ आफ्ना नाति बिभत्सु थापाकाे एकल नाम सिफारिस गरिएकाे छ । थापाले समानुपातिक तर्फ पहिलो नम्बरमा आफ्नै नाम राखेका छन् ।
समानुपातिक सूचीको खस आर्य तर्फ कुमारबहादुर थापा, खुला महिलामा इन्दिरा भण्डारी, आदीबासी जनजाती पुरुषमा धर्मध्वज राई, मानबहादुर विश्वकर्मा र नरेन्द्र राई छन् । यस्तै समानुपातिक जनजाती महिलातर्फ सानुमाया तामाङ, पवित्रा श्रेष्ठ, धनमाया गुरुङ, रुविना सुनार र नमुना राई छन् ।
जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको दुई फरक सूचीले राप्रपा कार्यकर्तामा अन्योलता छाएको छ । केन्द्रीय सदस्य श्रेष्ठले पठाएको उम्मेदवारको सूची अमान्य हुने जिल्ला अध्यक्ष थापाको दाबी छ । उनले जिल्लामा पार्टीले सिफारिस गरेको सूची नै आधिकारीक हुने दाबी गरे । उनले भने, ‘जिल्ला पार्टीले जे निर्णय गर्यो त्यही आधिकारीक हुन्छ । व्यक्तिगत रुपमा कसले के इच्छा राख्यो भन्ने कुराले फरक पार्दैन ।’
प्रतक्ष्य तर्फ नाति नाताका बिभत्सु थापा र समानुपातिक तर्फ आफ्नै नाम पहिलो नम्बरमा सिफारिस गरिएको प्रसंगमा अध्यक्ष थापाले मुलुकको वर्तमान परिस्थितिको माग र आफ्नो विगतदेखिको योगदानका आधारमा यो सिफारिस स्वभाविक भएको दाबी गरे ।
प्रतिनिधिसभामा प्रतक्ष्य तर्फ उम्मेदवार सिफारिस भएका ३० वर्षीय बिभत्सु क्रिकेट खेलाडी र सामाजिक विज्ञानका विद्यार्थी हुन् । अध्यक्ष थापाले बिभत्सुको सिफारिस बिरासत र नाता भन्दा पनि जेन–जीको मर्म अनुसार भएको दाबी गरे ।
उता केन्द्रीय सदस्य श्रेष्ठले भने राप्रपामा थापाहरुको एकलौटी अन्त्य गर्न आफूले छुट्टै सिफारिस सूची पठाउनु परेको दाबी गरिन् । उनले आफन्त र नातागोताका नाममा पार्टी कार्यकर्ताले नामसम्म नसुनेको व्यक्तिलाई अध्यक्षको सूमहले अघि सारेपछि आफूले बिद्रोह गर्नुपरेको जनाइन् । उनले भनिन्, ‘सिफरिसमा परेका ती बालक भाईका विषयमा केही टिप्पणी छैन्, मेरो असन्तुष्टि र बिद्रोह कुमारबहादुर थापाको प्रवृतिप्रति हो ।’ उनले आफूले गरेको सिफारिस नै आधिकारीक हुने दाबी गरिन् ।
थापा र श्रेष्ठ दुवैले आफूले पठाएको सूची नै आधिकारीक भएको दाबी गरिरहादा राप्रापाका नेता कार्याकर्ता भने अन्योलमा छन् । राप्रपाका पुराना नेता तथा पूर्वप्रधानपञ्च टीकाप्रसाद घिमिरेले अध्यक्षले पठाएको पत्रलाई नै मान्यता दिनुपर्ने तर्क गरे । उनले पार्टीलाई बिचार र सांगठनिक रुपमा थापाले मात्रै हाक्नसक्ने भन्दै उनको बचाउ गरे । भने, ‘धनकुटामा थापालाई अलग राखेर पार्टी चलाउन कठिन छ ।’
