ताप्लेजुङमा २ हजार ४२ मतदाता बढे

जिल्ला निर्वाचन कार्यालयले अन्तिम मतदाता नामावली प्रकाशित गर्दै पुरुष ४८ हजार २ सय ८५ र महिला ४२ हजार ४२ भएको जनाएको हो ।

पुस १४, २०८२

आनन्द गौतम

2,042 voters increased in Taplejung

What you should know

ताप्लेजुङ — आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाताको संख्या ९० हजार ३ सय २७ पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालयले अन्तिम मतदाता नामावली प्रकाशित गर्दै पुरुष ४८ हजार २ सय ८५ र महिला ४२ हजार ४२ भएको जनाएको हो । पुरुषको तुलनामा महिला मतदाता ६ हजार २ सय ४३ कम छन् । यो आगामी फागुन २० गते १८ वर्ष उमेर पुगेर २१ गते मतदान गर्न पाउनेको सङ्ख्या हो ।

२०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा २ हजार ४२ मतदाता थपिएका छन् । ०७९ मा ८८ हजार २ सय ८५ मतदाता थिए ।

निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज ‘विपिन’ दुलालका अनुसार नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी फुङलिङ नगरपालिकामा १८ हजार १ सय ९० मतदाता छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ जना छन् ।  

सिरिजङ्गामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरकमा ९ हजार ७ सय ४१, आठराई त्रिबेणीमा ९ हजार ५ सय १, फक्ताङलुङमा ९ हजार ३ सय, सिदिङ्वामा  ८ हजार ९ सय १५, मेरिङदेनमा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ हजार ५६ मतदाता हुने दुलालले जानकारी दिए ।

आगामी निर्वाचनका लागि ८० मतदान स्थल र १ सय २८ मतदान केन्द्र कायम भएका छन् ।  यसअघि ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका थिए । यस पटक ५ मतदान स्थल र ५ मतदान केन्द्र थप भएका हुन् ।  

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully