सिताके जातको च्याउका लागि एक हजार मुढा उपयोग गरेका छन् । प्रतिमुढा सात सय रुपैयाँको दरले एक हजार मुढाको सात लाख खर्च गरेको तामाङले सुनाए ।
What you should know
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जीतबहादुर तामाङले च्याउ खेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । तीन वर्षअघि सुरु गरेको च्याउ खेतीबाट गत वर्षदेखि आम्दानी गर्न थालेका हुन् ।
तामाङका अनुसार गत वर्ष सिताके च्याउबाट प्रतिकेजी ८ सय रुपैयाँका दरले बेच्दा २ लाख ४० हजार रुपैयाँ आम्दानी गरेका हुन् । गत वर्ष ३ सय केजी च्याउ उत्पादनबाट उक्त आम्दानी गरेको तामाङले सुनाए । गत वर्षको तुलनामा यस वर्ष दोब्बर उत्पादन बढ्ने तामाङले अपेक्षा गरेका छन् । उनले दिक्तेल बजार र काठमाडौंमा च्याउ बिक्री गर्ने गरेका छन् ।
‘मैले च्याउ खेती सुरु गरेको तीन वर्ष भयो, गत वर्षदेखि उत्पादन दिन थालेको छ,’ तामाङले भने, ‘गत वर्ष प्रतिकेजी ८ सय रुपैयााको दरले बेच्दा ३ सय केजीको २ लाख ४० हजार आम्दानी भयो, यस वर्ष त्यसको दोब्बर हुने अपेक्षा गरेको छु ।’
सिताके जातको च्याउका लागि एक हजार मुढा उपयोग गरेका छन् । प्रतिमुढा सात सय रुपैयाँको दरले एक हजार मुढाको सात लाख खर्च गरेको तामाङले सुनाए । ‘प्रतिमुढा ७ सय रुपैयाँका दरले १ हजार मुढाको सात लाख खर्च भयो,’ तामाङले भने, ‘यसबाट यस वर्षसम्म खर्च उकास्ने लक्ष्य राखेको छु, अर्को वर्षबाट चोखो आम्दानी हुन्छ ।’
कटुस, ओखर, उत्तीस लगायत जातको काठका मुढामा सिताके च्याउ खेती गरिन्छ । यसबाहेक कन्ने, गानोदर्मा जातका च्याउ पनि उत्पादन गर्ने गरेका छन् । च्याउका साथै बीउ पनि उत्पादन गरी अन्य किसानलाई समेत पुर्याउने गरेको तामाङले सुनाए । च्याउ उत्पादनका लागि ल्याब नै सञ्चालन गरिरहेका छन् । उक्त च्याउ स्रोत केन्द्रका लागि आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारले १३ लाख र आफूले १६ लाख गरी २९ लाख खर्च भएको तामाङले सुनाए ।
उनले उत्पादन गरेको सिताके च्याउको बीउ प्रतिपोका पाँच सय र कन्ने च्याउको प्रतिपोका ८० रुपैयाामा बिक्री गर्ने गरेको तामाङले जनाए । गानोदर्माको भने माग नआएको तामाङले बताए । माग आउनासाथ उत्पादन गरिने उनको भनाइ छ । सिताके च्याउको बीउ जापान, अमेरिका, क्यानडा, चीनबाट ल्याउने गरिएकामा गत वर्षबाट भने तालिम लिएपछि गाउँमै आफैंले उत्पादन गर्न थालेका हुन् । यसका लागि खुमलटारस्थित नार्कले गत वर्ष तालिम दिलाएको तामाङले सुनाए । उक्त तालिममा खोटाङ, इलाम, काठमाडौं, रूकुम, रोल्पा, डोटी लगायतका किसान सहभागी भएका थिए । तीमध्ये अधिकांशले च्याउको बीउ उत्पादन गर्न थालेको तामाङले सुनाए ।
