पाख्रीवासको पहिचान झल्काउन ‘पाख्री पार्क’ निर्माण

पाख्रीवास नामको उत्पत्तिसँग जोडिएको पहिचान उजागर गर्न पार्क निर्माण गरिएको पाख्रीवास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले बताए ।

पुस १३, २०८२

विनोद घिमिरे

Construction of 'Pakhri Park' to reflect the identity of Pakhriwas

धनकुटा — धनकुटा पाख्रीवास नगरपालिकाको केन्द्र पाख्रीवास बजारमा ऐतिहासिक र भौगोलिक पहिचान झल्काउने उद्देश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ ।

पार्कमा पाख्रीको बिरुवा रोपेर पाख्रीवासको पहिचान दिन खोजिएको हो । पाख्रीवास नामको उत्पत्तिसँग जोडिएको पहिचान उजागर गर्न पार्क निर्माण गरिएको पाख्रीवास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले बताए ।

यातायातको सुविधा नहुँदा विगतमा पाख्रीवासमा भोजपुर, संखुवासभालगायत जिल्लातर्फ जाने–आउने पैदलयात्री र भरिया यहीँ रहेको पाख्रीको रूखमूनि खाना पकाउने, आराम गर्ने र बस्ने–सुत्ने गर्थे । त्यसबेलाको पाख्रीको बुढो रुख मासिएपछि सानो पार्क बनाएर बिरुवा रोपिएको हो ।

पाख्रीको बिरुवाकै नामबाट याे‍ स्थानको नाम पाख्रीवास रहेको जनविश्वास छ । मध्यपहाडी क्षेत्रमा पाइने पाख्रीको बिरुवा संखुवासभाबाट ल्याएर पार्कमा रोपिएको हो ।

पार्क निर्माणका लागि पाख्रीवास नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको नगरप्रमुख गुरुङले जानकारी दिए । पार्कमा भौतिक संरचना निर्माणका लागि स्थानीय पाख्रीवास यूथ युनाइटेड क्लबले चन्दा संकलन गरी रकमको जोहो गरेको छ । क्लबले पाँच लाख रुपैयाँ लगानी गरेको क्लबका गणेश गुरुङले बताए । 

पार्क निर्माण गरिएको जग्गा स्थानीय नन्दमाया गुरुङले तत्कालीन समयमा इलाका हुलाक कार्यालयका लागि उपलब्ध गराएकी थिइन् । हुलाक कार्यालय स्थानान्तरण गरिएपछि सोही स्थानलाई संरक्षण गर्दै पाख्री पार्क निर्माण गरिएको हो । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully