धनकुटाबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपाद्वारा उम्मेदवार सिफारिस

जिल्ला कमिटीले प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ धर्मराज पौडेललाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

पुस १२, २०८२

विनोद घिमिरे

NCP recommends candidate for House of Representatives member from Dhankuta

धनकुटा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटी बैठकले निर्णय गरी उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको हो।

जिल्ला कमिटीले प्रतिनिधिसभा (प्रत्यक्ष) तर्फ धर्मराज पौडेललाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

पौडेल पूर्व जिल्ला विकास समितिका सभापति तथा तत्कालीन नेकपा एमाले धनकुटा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार रहिसकेका नेता हुन्। सोही सूचीमा गायक शम्भु राई, टेकनाथ (टी.एन.) आचार्य, नगेन्द्र विश्वकर्मा, विष्णुमाया कन्दङ्वा र लोकन्द्र राई पनि सिफारिस भएका छन्।

यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ धनमाया विश्वकर्मा र कुसुमकुमारी श्रेष्ठ सिफारिसमा परेका छन्। धनमाया विश्वकर्मा समावेशी सांसद तथा २०७० सालमा शिक्षा राज्यमन्त्री भएकी थिइन्। कुसुमकुमारी श्रेष्ठ तत्कालीन नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फ कोशी प्रदेशसभा सदस्य थिइन्। पत्रकार गोपाल बराइली र सरिता बराइली पनि प्रतिनिधिसभा समानुपातिक तर्फ सिफारिस भएका छन्।

राष्ट्रियसभातर्फ भने दुर्गा कुँवरलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी धनकुटाले जनाएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully