आमाको किरिया गर्दै चार छोरी

पुष २ गते घर ल्याएर अन्त्येष्टि गर्नु अघिदेखि किरियापुत्रीले निर्वाह गर्ने सबै भूमिका छोरी उनीहरुले नै निर्वाह गरिरहेका छन् । सन्तानका नाममा जानुकाका चार छोरी मात्रै हुन् ।

पुस १२, २०८२

लक्ष्मी गौतम

Four daughters doing their mother's bidding

What you should know

पाँचथर — बा–आमाको निधन हुँदा दागबत्ती दिन र कोरो ढिकुरो गर्न छोरा नै चाहिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का चार जना दिदी बहिनी आमाको काज किरियामा जुटेका छन् ।

दिवंगत आमा जानुका रिजालको किरियामा छोरीहरु सविना, टिकादेवी, आशा र बिमला जुटेका हुन् । उनीहरुकी आमा जानुकाको पुष १ गते विराटनगरको नोबेल अस्पतालमा निधन भएको थियो ।

पुष २ गते घर ल्याएर अन्त्येष्टि गर्नु अघिदेखि किरियापुत्रीले निर्वाह गर्ने सबै भूमिका छोरी उनीहरुले नै निर्वाह गरिरहेका छन् । सन्तानका नाममा जानुकाका चार छोरी मात्रै हुन् । ‘अन्त्येष्टि पूर्व आफन्त र छिमेकीहरुले छोरा छैनन्, कसले किरिया गर्ने भनेर छलफल गर्नासाथ छोरी पनि सन्तान हुन्, आफ्नै कोखबाट जन्मेकाले नगरेर कस्लाई दुःख दिने’ भन्दै अघि सरेर काज किरियामा जुटेको माइली छोरी टिकादेवीले बताइन् ।

दागबत्ती र पिण्ड दिन भाइ भतिजा कसैलाई अगाडि सारौं भने पनि हजुरबा दानबहादुर रिजालले आफ्नी बुहारीका खास उत्तराधिकारी नातीनीहरु नै भएकाले उनीहरुको इच्छा अनुसार गर्न समर्थन दिएका थिए ।

त्यसपछि छोरीहरुकै हातबाट दागबत्ती दिएर काज किरिया सुरु गरिएको थियो । जानुकाका चार मध्ये माइली छोरी टिकादेवी रिजाल अविवाहित छन् । विवाहित छोरीको थर र गोत्र पनि माइती कुलमै रहेकाले काज किरिया गर्न कुनै बाधा नहुने ठहर गर्दै दोस्रो व्यक्तिलाई किरिया पुत्री बसाउन भन्दा छोरीहरुबाटै काम सक्न उचित हुने ठानेर उनीहरुको प्रश्ताव स्विकार गरेको दानबहादुर बताँउछन् ।

आर्यघाटमा पुर्‍याइए गर्नुपर्ने अग्नि संस्कार देखि दागबत्ती दिने र घर फर्केपछि कोरामा बस्ने, ढिकुरो उठाउने र फुटाउने सबै काम छोरीहरुबाटै भइरहेको छ । ‘आमाले छोडेर गएका शुक्रबार एघारौ दिन बित्यो, आइतबार १३ दिनमा सुद्वाइ गरेर बाहिर निस्कन्छौं, त्यसपछि १ वर्षसम्म बरखी बारेर आमालाई बैकुण्ठधाम पठाँउछौं,’ माइली छोरी टिकादेवीले भनिन् ।

किरियापुत्री बनेर कोरो ढिकुरो गर्दै आमाका मृत्यु संस्कार ४ मध्ये मध्ये २ जना सेतो कपडा लगाएर किरिया पुत्रीकै भेषमा बसेका छन् भने २ जना हल्का रातो वस्त्रमा छन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully