वीपी प्रतिष्ठानको फार्मेसी पाँच महिनापछि पुनः सञ्चालन, स्वास्थ्य बिमा आबद्धलाई पनि सुविधा

प्रारम्भिक अनुसन्धानको क्रममा करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधि अनियमित भएको देखिँदा बन्द गरिएको फार्मेसी पाँच महिनापछि पुन संचालनमा आएको हो।

पुस ११, २०८२

एलिना राई

VP Foundation's pharmacy reopens after five months, providing facilities to health insurance members

What you should know

धरान — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बन्द रहेको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा करिब५ करोड ५० लाख रुपैयाँ बराबरको औषधि अनियमित भएको देखिँदा बन्द गरिएको फार्मेसी पाँच महिनापछि पुन संचालनमा आएको हो।

प्रतिष्ठानले बिरामीलाई गुणस्तरीय औषधि सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित शुक्रबारदेखि फार्मेसी संचालन सुरु गरेको प्रवक्ता प्रा.डा. अञ्जु प्रधानलेजानकारी दिइन्।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजीव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला र अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले संयुक्त रूपमाफार्मेसीको उद्घाटन गरे ।प्रतिष्ठानले सञ्चालनमा ल्याएको फार्मेसीमार्फत नेपाल सरकारको स्वास्थ्य बिमामा आबद्ध सेवाग्राहीले पनि औषधि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

फार्मेसीमा ठूलो परिमाणमा औषधि हराएको प्रारम्भिक तथ्य बाहिरिएपछि अस्थायी रूपमा बन्द गरिएको थियो । प्रतिष्ठानका अनुसार फार्मेसी सञ्चालन निजी कम्पनी 'केटीएमसेक्युरिटी सर्भिसेज प्रालि'लाई ठेक्कामा दिइएको थियो।

उक्त कम्पनीले बारम्बार पत्राचारका गर्दा पनि आफ्नो प्रतिनिधि उपस्थित नगराएकोले भौतिक परीक्षण हुन नसकेको भन्दै प्रतिष्ठानले कम्पनीलाई नियमित भुक्तानीमा रोक लगाएको थियो । मासिकतलब नपाएको भन्दै कम्पनीमार्फत कार्यरत कर्मचारीले गत साउन १८ गतेदेखि आन्दोलन सुरु गरेका थिए । त्यसपछि फार्मेसीमा औषधि बिक्रीवितरण अवरुद्ध भएको थियो ।

प्रतिष्ठानले वैकल्पिक व्यवस्था गर्दै साउन २० मा फार्मेसीमा रहेकाे स्टकको भौतिक परीक्षण गर्दा केही तथ्य अस्वभाविक देखिएपछि प्रतिष्ठानको हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिनसमिति गठन गरी आवश्यक प्रक्रिया अगाडि बढाइरहेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँकाे स्टकमा नदेखिएको, ३६ लाख नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँबिक्री गडबडी र १४ लाखभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेकाे थियाे ।

प्रतिष्ठानको हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. पोखरेलको संयोजकत्वमा गठन भएको ५ सदस्यीय छानबिन समितिले २५ दिनभित्र प्रतिवेदन बुझाउने तय भए पनि छानबिन जारी रहेको प्रवक्ता प्रधानले बताइन्।

प्रधानका अनुसार प्रारम्भिक तथ्यका आधारमा मात्र छानबिन भइरहेको छ र समितिको अन्तिम प्रतिवेदन आएपछि मात्रै दोषी निर्धारण वा कारबाही हुनेछ । केहीदिनमा प्रतिवेदन आएपछि यसबारे बोल्ने उनले बताइन्।

फार्मेसी पुनः सञ्चालनसँगै बिरामीले बाहिर मेडिकलमा महँगो मूल्य तिरेर औषधि खरिद गर्नुपरेको समस्या अब कम हुने विश्वास गरिएको छ। प्रतिष्ठानको फार्मेसीमा औषधि बाहिरी मूल्यभन्दा सस्तोमा उपलब्ध हुने भएकाले बिरामीको आर्थिक भार घट्ने उनले बताइन् । यससँगै स्वास्थ्य विमा अन्तर्गतका बिरामीले पनि यहाँबाट औषधि खरिद गर्न पाउने व्यवस्था गरिएको उनले बताइन् । 

फार्मेसीमार्फत औषधि वितरण प्रक्रियालाई थप पारदर्शी, किफायती तथा सहज बनाउने लक्ष्य राखेको प्रतिष्ठानले जनाएको छ । 

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully