धनकुटाको पाख्रीवासमा विद्यार्थीबीच लोकनृत्य प्रतियोगिता

शितलादेवी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न नेपाली लोक तथा आधुनिक लयमा आधारित नृत्य प्रस्तुत गरेका थिए ।

पुस ११, २०८२

विनोद घिमिरे

Folk dance competition among students in Pakhribas, Dhankuta

धनकुटा — धनकुटाको पाख्रीवासमा प्याब्सन आबद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीबीच लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । 

शितलादेवी माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न नेपाली लोक तथा आधुनिक लयमा आधारित नृत्य प्रस्तुत गरेका थिए । प्रस्तुतिमार्फत विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र सामूहिक कार्यक्षमताको समेत प्रदर्शन भएको आयोजकको भनाइ छ । 

प्रतियोगितामा धनकुटाका दीप, निलगिरि, मदरल्यान्ड, मनकामना, शितलादेवी, सयपत्री, दीपज्योति, सगरमाथालगायत ११ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा शितलादेवी माध्यमिक विद्यालय प्रथम, तमोरभ्याल्ली दोस्रो  मदरल्यान्ड र तमोरभ्याल्ली तेस्रो भए ।

विजयी प्रतियोगीलाई पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र प्याब्सन धनकुटाका अध्यक्ष प्रेम सुब्बाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । विद्यार्थीहरूको कला, संस्कार र संस्कृति प्रवर्द्धन गर्नुका साथै मानसिक तथा बौद्धिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याब्सन धनकुटाले जनाएको छ । साथै, विद्यार्थीहरूमा अतिरिक्त क्रियाकलापप्रति रुचि बढाउने र सृजनात्मक क्षमताको विकास गराउने लक्ष्यसहित कार्यक्रम गरिएको प्याब्सन धनकुटाका अध्यक्ष प्रेम सुब्बाले बताए ।

Folk dance competition among students in Pakhribas, Dhankuta

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully