विद्यालय हातामा सुर्तीजन्य पदार्थ बिक्री, विद्यार्थीको गुनासोपछि प्रहरी सक्रिय

धनकुटाका विद्यालय र क्यान्टिनमा खुलेआम सुर्तीजन्य पदार्थ बिक्री भइरहेको गुनासोपछि प्रहरीले यसविरुद्ध कडाइ सुरु गरेको छ ।

पुस १०, २०८२

विनोद घिमिरे

Tobacco products sold in school premises, police take action after student complaints

What you should know

धनकुुटा — विद्यालय परिसर नजिकै किराना पसल र क्यान्टिनमा खुलेआम सुर्तीजन्य पदार्थ बेचबिखन र सेवन भइरहेको गुनासो आएपछि धनकुटा प्रहरीले कडाइ सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा मंगलबार आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेसमक्ष उपस्थित विद्यार्थीले बिद्यालय हाता र क्यान्टिनमा खुलेआम सुर्तीजन्य पदार्थ बेचबिखन भइरहेको भन्दै मौखिक उजुरी गरेका थिए । डीआईजीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी गोकुण्डेश्वर बालमन्दिर विद्यालयका विद्यार्थीले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन कमजोर भएको गुनासो गरेका थिए ।

गुनासोपछि डीआईजी घिमिरेले विद्यालय र शैक्षिक संस्था हातामा सुर्तीजन्य पदार्थ बेचबिखन र बालबालिकाको प्रयोगविरुद्ध काम थाल्न धनकुटा प्रहरीलाई निर्देशन दिएका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले शिक्षण संस्था, पुस्तकालय, तालिमकेन्द्र, स्वास्थ्य संस्था, बालकल्याण गृह, विमानस्थल लगायत सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको छ । धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले सदरमुकामका क्षेत्रका विद्यालयमा अनुगमन गरी पसल र क्यान्टिन सञ्चालकलाई चेतावनी दिइएको बताए । उनले माइकिङ गरेर सार्वजनिक सूचना जारी गरिएको जनाए ।

‘विद्यालय हाताको दुई सय मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री र सेवन नगर्न कडाइ गरेका छौं,’ उनले भने, 'विद्यालय हातामा धुम्रपान गर्न, सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाइँदैन । १८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बेचबिखन गर्न पाइँदैन ।’ सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई रोक लगाउने, नमानेमा बाहिर निकाल्ने वा एक सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने नियम छ । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully