पूर्वपश्चिम राजमार्ग स्तराेन्नतिकाे काम सुस्त

झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक बिस्तारकाे काम न अपेक्षा अनुसार अघि बढेको छ न निर्माणाधीन खण्डको अवस्था नै राम्रो छ ।

पुस १०, २०८२

नवराज सुवेदी

East-West Highway upgrade work slows down

What you should know

झापा — पूर्वपश्चिम राजमार्गलाई 'एशियन हाइवे'मा स्तरोन्नति गर्न चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ ।

झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक खण्डमा यो कार्य जारी छ । तर, न निर्माण कार्य  अपेक्षा अनुसार अघि बढेको छ न निर्माणाधीन सडक खण्डको अवस्था नै राम्रो छ ।

सडक निर्माणका क्रममा पानी नहाल्दा कहिले धुलोले यात्रु हैरान छन् त कहिले सडकमा पानी धेरै हुँदा दुई पांग्रे सवारी चिप्लिएर हैरान छन् । सडकमा बनाइएका डाइभर्सनले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।

गत पुस ५ गते बिर्तामोडस्थित गिरिबन्धु चिया बगाननजिकको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भयो । भद्रपुर–९ बस्ने २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर–७ बस्ने २५ वर्षीय शीर्षक सुवेदीकाे डाइभर्सनमा भएको दुर्घटनामा ज्यान गएकाे हाे । सोही दिन मेचीनगरस्थित एनएमसी डेरीनजिकैको चिप्लेटी सडकमा स्कुटर चिप्लिँदा एक जना घाइते भए ।

यसरी सडक निर्माणका क्रममा लापारवाही हुँदा एक पछि अर्को गर्दै दुर्घटना भइरहेका छन् । सडक निर्माण सुस्त गतिमा छ । सडक निर्माणको ठेक्का लागेको दुई वर्ष बित्न लाग्यो । अहिलेसम्म ३० प्रतिशत हाराहारी मात्रै प्रगति भएकाे छ ।

तीन वर्षमा सक्ने गरी लगाइएको ठेक्काको म्याद १९ माघ ०८३ सम्म छ । ठेक्का अवधि सकिन बाँकी १३ महिनामा करिब ७० प्रतिशत काम गर्नुपर्ने छ ।  

एशियाली विकास बैंक (एडीबी) काे ८४ दशमलव ९ अर्थात ३ सय मिलियन डलर ऋण सहायता र नेपाल सरकारको १५ दशमलव १ प्रतिशत लगानीमा विस्तार भइरहेकाे काँकडभिट्टा–लौकही सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । जसलाई पनि विभिन्न खण्ड बनाएर ठेक्का लगाइएको छ । काँकडभिट्टादेखि लौकहीसम्मको १ सय २० किलोमिटर सडक ठेक्कामा लगाउनुपर्ने भए पनि सुनसरीको लबीपुरसम्म ९५ दशमलव ७६ किलोमिटर मात्रै ठेक्का लागेको छ ।

९५ किलोमिटर सडक विस्तार र यसमा पर्ने पुल निर्माणका लागि २ कात्तिक ०८० मा सम्झौता भएको थियो । ठेक्का २ कात्तिक ०८० मा लागेको भए पनि काम भने ढिला गरी सुरु भयो । सडक निर्माण गर्दा पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई खण्डमा ठेक्का लगाइएको थियो । पूर्वीखण्ड अन्तर्गत झापाको काँकडभिट्टादेखि जिल्लाकै कमल गाउँपालिकास्थित सितापुरीसम्मको ४५ किलोमिटर सडक छुट्याइएको थियो भने केर्खा पश्चिम सुनसरीको लबीपुरसम्मको ५०.७६ किलोमिटरलाई पश्चिम खण्ड भनिएको थियो ।

पूर्वी खण्डमा सडक निर्माण र साना कल्भर्ट निर्माण गर्न प्याकेज १ मा ठेक्का लगाइयो । जसको काम ३१ प्रतिशत सम्पन्न भएको काँकडभिट्टा–लौकही सडक आयोजना कार्यालय (पूर्वी खण्ड) का ईन्जिनियर आश्रय महतले जानकारी दिए ।

उनका अनुसार पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीमा पुलको काम पनि २२ प्रतिशत मात्रै भएको छ । ‘२०८३ को माघसम्म काम सम्पन्न गर्नुपर्ने हो । तर, आवश्यक सामाग्री अभाव, सहरी क्षेत्रमा बिजुलीको पोल सार्न समस्यालगायतका कारण काम अपेक्षा अनुसार अघि बढ्न नसकेको हो,’ उनले भने, ‘यद्यपि तोकिएकै समयमा काम सम्पन्न गर्ने आयोजनाको प्रयास जारी छ ।’

उनका अनुसार आगामी असारसम्म ३० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र गर्ने आयोजनाको लक्ष्य रहे पनि हालसम्म ५ किलोमिटरमा मात्रै कालोपत्र भएको छ । त्यो पनि दुई लेनमा मात्रै ।

पूर्वी खण्डमा कनकाई, निन्दा र बिरिङ नदीमा पुल निर्माणको कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ५ अर्ब ९७ करोडमा ठेक्का लिएका हो भने सडक निर्माणको ठेक्का १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको छ ।

यसैगरी, पश्चिम खण्डका रुपमा विभाजन गरिएको झापाको सितापुरीदेखि सुनसरीको लबिपुरसम्म ५० दशमलव ७६ किलोमिटर सडकमा पनि अपेक्षा अनुसार प्रगति छैन । झापामा १० किलोमिटर, मोरङमा ३५ किलोमिटर र सुनसरीमा ५ किलोमिटर सडक क्षेत्रमा पर्ने पश्चिम खण्डमा ३ वटा प्याकेजमा ठेक्का लगाइएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) का योजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

उनका अनुसार झापाको सितापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर सडकलाई एउटा प्याकेजमा ठेक्का लगाइएको थियो । जसको प्रगति ३० प्रतिशत छ । यसैगरी गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म १० दशमलव ७६ किलोमिटर सडकलाई अर्को प्याकेजमा ठेक्का लगाइएको थियो । जसको प्रगति भने १५ प्रतिशत मात्रै छ । ‘याे प्याकेजमा ईटहरी जस्ता प्रमुख सहर परेका छन् । जहाँ बिजुलीको पोल सार्न धेरै नै ढिलो भइरहेको छ । जसको असर सडक निर्माणमा परेको हो,’ योजना प्रमुख प्रजापति भन्छन्, ‘दुई हजार बढी पोल सार्नुपर्नेमा हालसम्म ५ सय पोल पनि सारिएको छैन ।’

नवराज सुवेदी

Link copied successfully