धरानमा फोहोरबाट ग्यास उत्पादन र वातावरण सुधार गर्ने सपना बोकेको परियोजना कानुनी र प्रशासनिक अन्योलमा परेर वर्षौं अलपत्र परेको छ।
What you should know
धरान — धरान उपमहानगरपालिकाको फोहोरलाई प्रशोधन गरी ग्यास र मल उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको ‘भेन्चर वेस्ट टु इनर्जी’ परियोजना पूर्ण रूपमा सञ्चालनमा नआउँदै बन्द भएको छ ।
धरान–६ पानवारीमा रहेको उक्त फोहोर प्रशोधन केन्द्र पछिल्ला चार महिनादेखि बन्द छ । परियोजना अलपत्र परेपछि धरानको फोहोर व्यवस्थापन समस्या पुनः गम्भीर बन्दै गएको छ ।
धरानको फोहोरलाई प्रशोधन गरेर ऊर्जा उत्पादन गर्ने उद्देश्यसहित २०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र भेन्चर वेस्ट टु इनर्जी प्रालिबीच त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार पानवारीस्थित २२ कट्ठा क्षेत्रफलमा २४ करोड रुपैयाँ लगानीमा यो उद्योग सञ्चालन गरिएको थियो । यसमा नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विश्व बैंकबाट करिब ७ करोड रुपैयाँ अनुदान प्रदान गरिएको थियो ।
भेन्चर वेस्ट टु इनर्जी प्रालिले निर्माण गरेको केन्द्रले धरानमा लामो समयदेखि चल्दै आएको परम्परागत डम्पिङ प्रणालीलाई विस्थापित गर्ने, जैविक फोहोरलाई उपयोगी स्रोतमा रूपान्तरण गर्ने र सहरलाई ‘क्लिन सिटी’ बनाउने लक्ष्य लिएको थियो । तर उद्घाटनसँगै देखाइएको सपना छोटो अवधिमै अधुरो बनेको छ ।
पनवारीस्थित फोहोर प्रशोधन केन्द्रको उद्घाटन २०७८ पुस २० गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि तथा सम्बन्धित निकायहरूले यस परियोजनालाई धरानको दीर्घकालीन फोहोर व्यवस्थापनको समाधानका रूपमा प्रस्तुत गरेका थिए । दैनिक उत्पादन हुने ठूलो मात्रामा जैविक फोहोर प्रशोधन गरी घरेलु ग्यास र अर्गानिक मल उत्पादन गर्ने योजना बनाइएको थियो ।
विभिन्न अध्ययन र प्रारम्भिक परीक्षण सफल भएपछि परियोजनाले जैविक फोहोरबाट बायोग्यास उत्पादन गरी त्यसलाई टेम्पो तथा अन्य सवारीसाधनमा प्रयोग गर्ने लक्ष्य लिएको थियो । फोहोरबाट उत्पादन भएको ग्यास प्रयोग गरेर धरानका टेम्पो सञ्चालन गर्ने योजना अनुसार २० भन्दा बढी टेम्पोमा कन्भर्जन किट जडान गरी पेट्रोल र ग्यास दुवैबाट चल्ने परीक्षणसमेत गरिएको थियो । परीक्षण सफल भएपछि भोटेपुल क्षेत्रमा ग्यास रिफिल स्टेसनसमेत निर्माण गरिएको थियो । एक केजी ग्यासले ३५–३६ किलोमिटरसम्म टेम्पो चल्ने दाबी गरिएको थियो ।
त्यस्तै पेट्रोलभन्दा १० देखि १५ रुपैयाँ सस्तो पर्ने, वातावरणीय प्रदूषण कम हुने र धरान उपमहानगरपालिकाको वार्षिक करिब ३ करोड रुपैयाँ फोहोर व्यवस्थापन खर्च बचत हुने बताइएको थियो । तर परियोजनाले अपेक्षाअनुसार गति लिन सकेन ।
धरान उपमहानगरपालिका र भेन्चर वेस्ट टु इनर्जी प्रालिबीच फोहोर संकलन तथा प्रशोधनसम्बन्धी २० वर्षे औपचारिक सम्झौता भएको थियो । सम्झौता अनुसार उद्योगले व्यावसायिक रूपमा ग्यास उत्पादन सुरु गरेपछि आम्दानीको १ प्रतिशत उपमहानगरपालिकालाई बुझाउनुपर्ने र २० वर्षपछि प्रशोधन केन्द्रको जग्गासहित सम्पूर्ण सम्पत्ति नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था थियो । तर उद्योग नै बन्द भएपछि यी प्रावधानहरू कार्यान्वयनमा आउन सकेका छैनन् ।
सम्झौता अनुसार उपमहानगरपालिकाले उद्योगलाई नियमित रूपमा फोहोर आपूर्ति गर्दै आएको भए पनि कम्पनी बन्द भएपछि धरानमा पुनः फोहोर ढुवानी, डम्पिङ र व्यवस्थापन नगरपालिकाका लागि ठूलो चुनौती बनेको छ ।
धरान उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख भेषराज घिमिरेका अनुसार संघीय सरकार र उद्योग सञ्चालकको बेवास्ता, कानुनी जटिलता तथा प्रशासनिक अस्पष्टताका कारण उद्योग बन्द भएको हो । धरानमा दैनिक ४५ देखि ५० टन फोहोर उत्पादन हुने गर्दछ । प्रशोधन केन्द्र बन्द भएपछि उक्त फोहोर पुनः अस्थायी डम्पिङ स्थलमा थुपार्नुपर्ने अवस्था आएको उनले बताए । हाल धरानको फोहोर संकलन गरी चारकोसे जंगल नजिकै सेउती खोला किनारमा अस्थायी रूपमा व्यवस्थापन गरिँदै आएको घिमिरेले जानकारी दिए ।
उद्योग सञ्चालक जेनेश श्रेष्ठले सरकारी असहयोग र स्पष्ट नीति अभावका कारण ग्यास उत्पादन बन्द गर्न बाध्य भएको बताए । 'हामीले उत्पादन गरेको ग्यास बिक्री गर्न सरकारका नीति र नियम नहुँदा कानुनी जटिलता सिर्जना भयो,' उनले भने, 'उत्पादन भए पनि बजारीकरण नहुँदा खर्च मात्रै बढ्दै गयो । हामीले ३–४ वर्षदेखि नीति बनाउन माग गरिरहेका छौँ, तर कुनै ठोस पहल भएको छैन ।'
सरकारले नीति बनाउने स्पष्ट पहल नगरेसम्म कम्पनी र ग्यास उत्पादन पुनः सञ्चालन हुन नसक्ने उनको भनाइ छ । 'कम्पनी चलाउने हाम्रो चाहना थियो, हामीले चलाएर पनि देखायौँ । तर उत्पादन बिक्री गर्न नसक्ने भएपछि खर्च धान्न नसक्ने अवस्था आयो,' उनले भने, 'त्यसैले कम्पनी बन्द गर्नुपर्ने बाध्यता आएको हो ।'
ठूलो लगानी, सरकारी अनुदान र नागरिकको अपेक्षासहित सुरु गरिएको धरानको ‘वेस्ट टु इनर्जी’ परियोजना अलपत्र परेपछि सहरको फोहोर व्यवस्थापन पुनः संकटमा परेको छ ।
