भालु क्षति पुर्‍याउँदै अघिअघि, वनका कर्मचारी पछिपछि

स्थानीय जनप्रतिनिधि भने अहिलेसम्म पशुचौपायामा मात्रै क्षति भए पनि मानिसमाथि आक्रमण गर्ला कि भन्ने चिन्ता थपिएको बताउँछन् ।

पुस १०, २०८२

आनन्द गौतम

Bears cause damage, forest officials follow

What you should know

ताप्लेजुङ — पुस ७ गते शनिबार बिहान फुङलिङ नगरपालिका-९ हाङदेवा बुङकुलुङका भगिमान गुरुङका दुईवटा खसी, एउटा माउबाख्रो र एउटा पाठो गरी चारवटा पशुचौपाया मृत भेटिए । कुनैको रगतमात्रै पिएको, कुनैको पेट उदारेर छोडेको अवस्थामा देखिएपछि जङ्गली जनावरले मारेको आशङ्का गाउँलेले गरे ।

यतिबेला लेकबाट भालु औलतिर झर्ने र उसले पशुचौपायामा यसरी नै क्षति पुर्‍याउने भएकाले त्यही आशङ्कामा डिभिजन वन कार्यालयका कर्मचारीलाई खबर गरियो । पशुचौपाया क्षतिको अवलोकन र भालु नै भए त्यसले थप क्षति पुर्‍याउने भएकाले सहयोगका लागि अनुरोध गरेको स्थानीयले बताए ।

आइतबार बिहान त्यो क्रम पुन: दोहोरियो । तर, भगीमानकोमा नभएर भीमकुमार गुरुङ र नारायणप्रसाद गुरुङकोमा । भीमकुमारको दुईवटा माउबाख्रा र नारायणप्रसादका एउटा साढे भेंडालाई आक्रमण गरेर क्षति पुर्‍यायो । रातको समयमा एउटै क्षेत्रमा भएको क्षतिले स्थानीयलाई आतङ्कित पार्नु स्वाभाविक थियो ।

यो क्रम सोमबार पुन: दोहोरियो । पदम गुरुङ, राधिका गुरुङ र नारयण भण्डारीको खोरमै पसेर बाख्रा र भेडामाथि आक्रमण गर्‍यो । सोमबार भने राधिका र नारायणले प्रत्यक्ष देखे र भालु नै हो भन्ने यकिन गरे । खोरका बाख्रा कराएपछि घरको दोस्रो तलाबाट टर्च लाइट बालेकी राधिका होहल्ला गर्न थालेपछि भालु ओरालो लाग्यो ।

उनले भनिन्, ‘कालो ठूलो थियो, म कराउन थालेपछि नभागीकन बिस्तारै ओरालो लाग्यो । अनि घर गाउँका सबै भेला भएर उसले आक्रमण गरेको बाख्रालाई उपचार प्रयास गुर्‍यौं ।’ त्यही रात यहाँबाट पाँच सय मिटर दूरीमा रहेको नारायणप्रसादकोमा पुगेर एउटा माउ बाख्रालाई घाइते बनायो र एउटा पाठालाई बोकेरै लगेर अलैंची बारीमा मारेर खाएको पाइयो ।

खोरका बाख्रा कराएपछि टर्च बालेर हेर्दा नारायण प्रसादतिरै हेरेको भालुको आँखा टल्किएपछि उनी आफूलाई सुरक्षित राख्न घरभित्र पस्न बाध्य भए । उनले भालु नै हो भन्ने यकिनचाहिँ गरे ।

मङ्गलबार भने डिभिजन वन कार्यालय भालु थुन्ने खोर लिएर गाउँ गयो । नारायणप्रसादकोमा डेढ दर्जनको संख्यामा बाख्रा भएको र उनले धेरै हच्काउन पनि नसकेकाले त्यही खोरमा बेलुका आउन सक्ने अनुमान गाउँले र डिभिजन वनका कर्मचारीले गरे ।

भालु खोरमा परे त्यसलाई सुरक्षितसाथ गाडीमा राखेर अर्को ठाउँमा पुर्‍याउनु पर्ने भएकाले लगिएको खोर त्यहीँ राख्ने निर्णय भयो । कर्मचारी र स्थानीयले मजबुत ढङ्गले बाख्राको खोरसँगै जोडेर भालु थुन्ने खोर पनि राखे। डिभिजन वन कार्यालयका अधिकृत ललितकुमार यादवका अनुसार बाख्राको खोरभित्र सधैंजस्तै बाख्रा थुन्ने, खोरमा पस्ने ठाउँमा भालुका लागि खोर राख्ने, बाख्रालाई देखेपछि भालु त्यही बाटो भएर भित्र पस्छ र थुनिन्छ भन्ने अपेक्षा थियो । त्यसरी नै मजबुत ढङ्गले व्यवस्थापन गरियो । तर, भालु नारायणको खोरमा फर्किएन । चार/पाँच सय मिटरअगाडि गडीडाँडा भन्ने स्थानतिर अगाडि बढ्यो । यो रात उसले मनिराज गुरुङको एउटा बाख्रामा क्षति पुर्‍यायो ।

‘गडीडाँडाबाट पाथीभरा क्षेत्रको भालुगौंडे नजिक पर्ने भएकाले अब बासस्थान फर्कियो, त्यसतर्फ जाला भन्ने अनुमान धेरैलाई भयो,’ सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझाले भने, ‘यो क्षेत्रलाई भालुको वासस्थान क्षेत्र पनि मानिने भएकाले यस्तो अपेक्षा गरिएको थियो तर त्यस्तो भएन।’ बिहीबार बिहान फेरि दुईवटा खसी भालुको आक्रमणमा परे ।

तर उसको वासस्थान भनिएको भालुगौंडे क्षेत्रमा नभइ फरक स्थानमा । फुङलिङ नगरपालिका-१० फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार पोष्टबहादुर कार्कीको एक माउ बाख्रा र एउटा खसी खाइदिएको छ । उनले बुधबार र बिहीबार बिहानसम्ममा आफ्नो वडामा तीनवटा पशुचौपायामा क्षति पुर्‍याएको बताए ।

फुङलिङ-९ का वडाध्यक्ष लक्षुमन गुरुङले आफ्नो वडामा १२ वटा पशु चौपायामा क्षति पुर्‍याएपछि छिमेकी वडामा पुगेको बताए । लक्षुमनका अनुसार भालुले आक्रमण गरेका पशुचौपाया कुनै तत्कालै मर्ने र तत्कालै नमरेका पनि दुई-तीन दिनभित्रमा मर्ने गरेको पाइएको छ । ‘त्यसले शरीरमा विष छोडेर जाने रहेछ । घाइते बनाएर छोडेका भेडाबाख्रा भुँडी फुल्ने र मर्ने गरेको पाइयो । कुनै पनि बाँचेको पाइएन,’ लक्षुमनले भने ।

यतिबेला भालु अघिअघि क्षति पुर्‍याएर हिँड्ने र डिभिजन वन कार्यालयका कर्मचारी पछिपछि नियमित क्षतिको विवरण सङ्कलन गर्दै हिँड्ने क्रम चलेको छ । ‘हामीसँग भएको एउटा खोर हो,’ डिभिजन वन कार्यालयका निमित्त प्रमुख ललितकुमार यादवले भने, ‘दोहोरिएर आउला भन्ने एउटा आशङ्का थियो र गडीडाँडा पुगेपछि वासस्थान फर्किएला भन्ने अपेक्षा थियो, दुवै नभएपछि अब विकल्प खोज्नुपर्ने भएको छ ।’

खोरलाई सार्ने तयारीमा वन कार्यालय छ । हरेक रात पाँच सय मिटरसम्म हिँडेर अगाडि बढेको पाइएकाले अब त्यही अनुसारको अध्ययन गरेर खोर राख्ने उनले बताए । अहिलेसम्म एक रातमा नजिकका दुईदेखि तीनवटासम्म खोरमा आक्रमण गरेको पाइएको सुरज बताउँछन् । 

स्थानीय जनप्रतिनिधिहरू भने अहिलेसम्म पशुचौपायामा मात्रै क्षति भए पनि मानिसमाथि आक्रमण गर्ला कि भन्ने चिन्ता थपिएको बताउँछन् । ‘अब त दिनहुँ खुन र मासु खान पल्कियो,’ वडाध्यक्ष लक्षुमनले भने, ‘अब कुनै दिन पशु चौपाया नभेट्टाए मानिसलाई झम्टन सक्ने भएकाले बढी चिन्ता भयो ।’

खोरका अलावा ड्रोन क्यामरा लगायतका विधि प्रयोग गरेर खोज्नुपर्ने सुझाव उनीहरूको छ । भालु नियन्त्रणका लागि डिभिजन वनका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली दिनहुँ प्रभावित क्षेत्रमा पुगिरहेका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully