नेपाली सेनाले पुस २७ देखि ३० गतेसम्म दौड र पदयात्रा कार्यक्रम तय गरेको सेनानी पार्वती थापाले जानकारी दिइन् ।
धनकुटा — नेपाली सेनाले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सुनसरीको विजयपुरगढी–साँगुरीगढी दौड र पदयात्रा गर्ने भएको छ ।
धनकुटाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस २७ गते नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी, २ नम्बर बाहिनी हिलेको संयोजनमा धनकुटाको भीमदल गण सल्लेरी तथा सुनसरीस्थित भगवती दल गणले विजयपुरगढी–साँगुरीगढी दौड र पदयात्रा कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।
नेपाली सेनाले पुस २७ देखि ३० गतेसम्म दौड र पदयात्रा कार्यक्रम तय गरेको सेनानी पार्वती थापाले जानकारी दिइन् । ऐतिहासिक स्थल विजयपुरगढी, साँगुरीगढी र पाख्रिबास क्षेत्रको पहिचान, संरक्षण तथा प्रवर्द्धनका साथै राष्ट्रिय एकता र देशभक्तिको सन्देश फैलाउन कार्यक्रम गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।
ऐतिहासिक गढीको महत्त्व र ऐतिहासिकता बुझाउन विगतमाझै दौड र पदयात्रा कार्यक्रम गर्न लागिएको धनकुटाको सल्लेरीस्थित भीमदल गणका गणपति गणेश थापाको भनाइ छ ।
