सेकाहामा ऐतिहासिक महोत्सव पुस ११ देखि

महोत्सवको तयारी पूरा भएको आयोजक सेकाहा सामुदायिक विकास क्लबले जनाएको छ।

पुस ८, २०८२

दीपेन्द्र शाक्य

संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सेकाहामा आगामी पुस ११ गतेदेखि १५ गतेसम्म ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ हुने भएको छ।

सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको आयोजकले मंगलबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

महोत्सवमा बहृत सांगीतिक कार्यक्रम, सेकाहा गाउँ तथा पर्यटकीय क्षेत्रको अवलोकन, पर्यटन प्रवर्द्धन तथा होमस्टे निरीक्षण, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम समावेश गरिनेछ।

यसैगरी जिल्लाभरका तमू (गुरुङ) समुदायको सहभागितामा तमू ल्होसार पर्व सामूहिक रूपमा मनाइने, साथै छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने, परम्परागत नृत्य तथा खेलकुद कार्यक्रमहरूले महोत्सवलाई थप रोचक बनाउने आयोजकले जनाएको छ।

तमू (गुरुङ) समुदायको महान पर्व तमू ल्होसारको अवसर पारेर आयोजना गरिएको यो महोत्सवले पाँच दिनसम्म सेकाहामा रमझम, सांस्कृतिक सौन्दर्य र भाइचाराको वातावरण सिर्जना गर्ने महोत्सवका अध्यक्ष मनिराज गुरुङले जानकारी दिए। महोत्सवले स्थानीय संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुर्‍याउने विश्वास आयोजकको छ।

स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवले सेकाहालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

दीपेन्द्र

Link copied successfully