जेन–जी आन्दोलनमा लुटिएका हतियार झाडीदेखि ओडारसम्म भेटिए

आगजनी र लुटपाटमा संलग्न १ सय ८ पक्राउ, २२ जना पुर्पक्षमा । आन्दोलनको मौका छोपी प्रहरी हिरासतबाट फरार भएका १ सय २९ कैदीबन्दी अझै फरार ।

पुस ७, २०८२

पर्वत पोर्तेल

Weapons looted during the Gen-G movement found in bushes and caves

What you should know

विराटनगर — भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका हतियार तथा गोलीगठ्ठा विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पर्न थालेसँगै कोशी प्रदेशको सुरक्षा संयन्त्र सक्रिय देखिएको छ । खोलाका बगर, चिया बगान र झाडी क्षेत्रमा लुकाइएका ती हतियार प्रहरीले क्रमशः बरामद गरिरहेको छ ।

आइतबार दिउँसो बिर्तामोड नगरपालिका–६ स्यालडाँगीस्थित चिया बगानमा इन्सास राइफलको एक थान म्याग्जिन र मार्का थ्री राइफलका तीन राउण्ड गोली फेला पर्‍यो । प्रहरीका अनुसार बरामद म्याग्जिन र गोली जेन–जी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय अनारमनी (बिर्तामोड)को जिन्सी भण्डार कक्षबाट लुटिएका थिए ।

यसअघि इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको एक थान ग्यासगन पनि फेला परिसकेको छ । कमल गाउँपालिका–५ स्थित धनप्रसाद मार्गनजिकै रहेको गेउरिया खोलाको किनारबाट २३८१६९ नम्बरको ग्यासगन बरामद गरिएको हो । बट र नालसहित खिया लागेको तथा जलेको अवस्थामा भेटिएको उक्त हतियारलाई रितपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरीले जनाएको छ । 

मंसिर ३ मा दमकबाट लुटिएका दुई थान हतियार र केही थान गोली पाँचथरको मिक्लाजुङ गाउँको एउटा ओढारमा फेला परेका थिए । फेला परेका हतियारमा म्यागेजिनसहितको ३०३ मार्क–३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र ह्यान्ड–ग्रिप, इन्सासको एक थान जंगी राउन्ड र एसएलआरका तीन थान जंगी राउन्ड रहेको प्रहरीले जनाएको छ ।

कात्तिक २६ मा प्रहरीले जेन–जी प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका बन्दुकका ५४ राउन्ड गोलीसहित दुई जना पक्राउ गरेका थिए । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक कोठाबाट एसएलआरका ३८ राउन्ड र इन्सास राइफलका १६ राउन्ड गोली बरामद गरिएको हो । 

त्यसअघि कात्तिक १९ मा बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोलस्थित तोरीबारी नजिकको सिमल तरुलको झाडीमा ०३११००८७२ नम्बरको एक थान इन्सास राइफल, त्यसको म्याग्जिन एक थान, नचलाएको १९ राउन्ड गोली र चलाएको २ राउन्ड गोलीको खोकासमेत फेला परेको थियो । उक्त बन्दुक इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो ।

 Weapons looted during the Gen-G movement found in bushes and caves

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जेन–जी प्रदर्शनका क्रममा दमक र बिर्तामोडका प्रहरी कार्यालयबाट जम्मा २२ थान हतियार लुटिएका थिए । तीमध्ये हालसम्म आधा दर्जन हतियार फेला परेका छन् भने बाँकीको खोजी तीव्र बनाइएको छ ।

प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता एसएसपी दीपक पोखरेलले लुटिएका हतियार फेला पर्ने क्रम जारी रहेको बताउँदै केही दिनभित्रै बाँकी हतियारसमेत बरामद हुने दाबी गरे । ‘हामीसँग सूचना छन्, हतियारहरू लुकाइएका छन्, फेला पर्ने क्रम जारी छ,’ उनले भने ।

४३ मुद्दा, १ सय ८ पक्राउ, १ सय २९ अझै फरार

आन्दोलनको मौका छोपी प्रहरी हिरासतबाट फरार भएका थुनुवा पनि पछिल्ला दिनमा पक्राउ पर्न थालेका छन् । गौरादह नगरपालिका–१ का २५ वर्षीय लुखीराम वास्के पुस ५ गते गौरादहमै पक्राउ परे । सोही दिन कमल गाउँपालिका–५ का २६ वर्षीय सन्जीव लिम्बु पनि पक्राउ परेका थिए ।

त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई सोमबार दमक–६ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तीनै जना आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार भएका थिए ।

जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा कोशी प्रदेशका विभिन्न जिल्लामा आगजनी, तोडफोड, हातहतियार लुटपाटलगायतका हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिविरुद्ध दर्ता भएका मुद्दाको संख्या ४३ पुगेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरणअनुसार मोरङ, झापा, सुनसरी र इलाममा गरी ४३ वटा मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी मोरङमा २४ मुद्दा दर्ता भएका छन् भने झापामा १५, सुनसरीमा १ र इलाममा ३ मुद्दा दर्ता भएका छन् । 

दर्ता भएका मुद्दाअनुसार हालसम्म १ सय ८ जना पक्राउ परिसकेका छन् । तर, मुद्दामा संलग्न कुल अभियुक्तमध्ये १ सय २९ जना अझै फरार छन् । फरारमध्ये मोरङका ७३, झापाका ५३, सुनसरीका १ र इलामका २ जना छन् । एक महिला पनि फरार रहेको प्रहरी अभिलेखमा उल्लेख छ ।

पक्राउ परेकामध्ये झापामा १९ र मोरङमा ३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने अन्यलाई साधारण तारेखमा रिहा गरिएको छ ।

चुनाव नजिकिँदै जाँदा सुरक्षा चुनौती 

आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा जेन–जी आन्दोलनमा प्रत्यक्ष संलग्न ठूलो संख्या अझै फरार रहनुले सुरक्षा चुनौतीको प्रश्न उठ्न थालेको छ । लुटिएका हतियार सबै फेला नपर्नु, फरार अभियुक्त खुला रूपमा आवतजावत गर्न सक्ने अवस्था रहनु र विगतमा भएको हिंसात्मक पृष्ठभूमिले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने चासो बढाएको छ ।

तर, प्रहरी भने परिस्थिति नियन्त्रणमै रहेको दाबी गर्छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले फरार अभियुक्तबाट ठूलो सुरक्षा चुनौती नरहेको दाबी गरे । 

‘प्रहरीले भेट्ला कि भनेर लुकीछिपी बसेकाहरूबाट सुरक्षा चुनौती हुन्छ भन्ने हाम्रो अनुमान छैन,’ उनले भने, ‘यद्यपि हामी गम्भीरचाहिँ छौं ।’ 

प्रहरीका अनुसार आन्दोलनका क्रममा हराएका अन्य हतियार, गोलीगठ्ठा र संलग्न व्यक्तिको खोजी तथा अनुसन्धानलाई थप तीव्र बनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै संवेदनशील क्षेत्रको पहिचान, गस्ती वृद्धि, विशेष निगरानी र सूचना संकलनलाई प्राथमिकतामा राखिएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जनाए । 

प्रहरीले सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गर्दै सार्वजनिक स्थल, झाडी, खोलाको किनार वा चिया बगानजस्ता क्षेत्रमा शंकास्पद बस्तु देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully