धनकुटाका युवालाई ‘टुरिष्ट गाइड’ तालिम

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा धनकुटा नगरपालिकाले १५ युवालाई ‘टुरिष्ट गाइड’मा हुनुपर्ने आचरण, व्यवहारिक ज्ञान, शिष्टाचार, सम्वाद कला, सुरक्षा सचेतना र जिम्मेवारीका विषयमा तालिम दिएको हो ।

पुस ७, २०८२

विनोद घिमिरे

'Tourist Guide' training for youth from Dhankuta

धनकुटा — पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्न धनकुटा नगरपालिकाले स्थानीय युवाका लागि ‘टुरिष्ट गाइड’ तालिम संचालन गरेको छ ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्यमा धनकुटा नगरपालिकाका १५ जना युवालाई ‘टुरिष्ट गाइड’मा हुनुपर्ने आचरण, व्यवहारिक ज्ञान, शिष्टाचार, सम्वाद कला, सुरक्षा सचेतना र जिम्मेवारीका विषयमा सात दिनको तालिम दिएको हो ।

तालिममा सहभागी युवालाई पर्यटनकर्मी, ईतिहासका जानकार तथा भूगर्भविद्ले धनकुटाको ईतिहास, संस्कार संस्कृति, भाषा, भौगोलिक विशेषता, पर्यटकका लागि विश्वसनीय सूचना र मार्गदर्शन सम्बन्धी सात दिनको कोर्ष उपलब्ध गराएका छन् । 

गाइडहरुले धनकुटा आउने पर्यटकलाई स्थानीय विशेषताबारे बुझाउने, घुमाउने र चिनाउने काम गर्ने छन् । टुरिष्ट गाइड तालिमले पर्यटकलाई मार्गदर्शन, स्थानीय पर्यटनसाग सम्बन्धित गतिबिधि र स्वरोजगारमा सघाउ पुर्‍याउने धनकुटाका नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । 

उनले पर्यटन प्रवर्द्धनका लागि आधारभूत गाइडलाई बहुभाषिक तालिम समेत उपलब्ध गराउँदै जाने बताए । धनकुटा नगरपालिकामा ऐतिहासिक निशान भगवती मन्दिर, बिहीबारे हाट, सुन्तले सहर, बिश्रान्ति धाम, मूलघाट धनकुटा पदमार्ग, महेन्द्र पार्क, आठपहरिया संग्रहालय, कोशी प्रदेश संग्रहालय, चुलीवन, हिले, बक्रकुण्ड, उत्तरपानी, मधुगंगा तीर्थस्थललगायतका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका सम्पदा छन् । 

धनकुटा नगरपालिकाले नगरभित्रका पर्यटकीय सूचना र जानकारी उपलब्ध गराउन बसपार्कमा पर्यटन सूचना केन्द्र पनि संचालनमा ल्याएको छ । यसका साथै धनकुटा नगरपालिकाले पर्यटन नीति समेत तयार गरिरहेको सूचना अधिकारी विकास अधिकारीले जानकारी दिए । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully