एमाले महाधिवेशनमा जाने शिक्षकलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण–पत्र

‘शिक्षक एमाले कार्यक्रममा गएको भन्ने ध्यानाकर्षण पत्र आएको छ,’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तीर्थबहादुर विश्वकर्माले भने, ‘यदि कार्यक्रममा गएको पुष्टि भयो भने कारबाही हुन्छ ।’

पुस ७, २०८२

डम्बरसिं राई

Letter of attention demanding action against teachers attending UML general convention

What you should know

खोटाङ — शिक्षकहरू विद्यालय छाडेर एमाले महाधिवेशनमा गएको भन्दै कानुनी कारबाहीको माग गर्दै दुई विद्यार्थी संगठनले शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा ध्यानाकर्षण–पत्र बुझाएका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँस्थित समाज सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक अमृत थापा, उक्त गाउँपालिकाका शिक्षा शाखामा कार्यरत रणशेर तामाङ र प्रधानमन्त्री रोजगार संयोजक मुकेशकुमार गेलाल गत मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा गएको भन्दै आइतबार ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।

शिक्षा ऐन कानुन र आचारसंहिताले शिक्षक तथा कर्मचारीलाई प्रत्यक्ष रूपमा राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरिएको हुँदा–हुँदै एमाले महाधिवेशनमा सहभागी हुनु गम्भीर अनुशासनहीन, पेसागत मर्यादा र विद्यालयको शैक्षिक वातावरणमा नकारात्मक असर परेकाले उक्त विषयमा छानबिन गरी नियमानुसार कारबाही गर्नुपर्ने भन्दै अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्त रूपमा ध्यानाकर्षण गराएका हुन् । रणशेर तामाङले भने भेटघाट र व्यावहारिक कामको सिलसिलामा काठमाडौं गएको बताएका छन् । ‘भेटघाट र व्यावहारिक कामको सिलसिलामा काठमाडौं गएको हो,’ तामाङले भने, ‘हामी महाधिवेशन प्रतिनिधि होइनौं ।’

यस विषयमा आरोपित सम्बन्धित व्यक्ति कार्यक्रममा सहभागी भएको पुष्टि भए कारबाही हुने शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख तीर्थबहादुर विश्वकर्माले बताए । ‘शिक्षक एमाले कार्यक्रममा गएको भन्ने ध्यानाकर्षण पत्र आएको छ,’ उनले भने, ‘यदि कार्यक्रममा गएको पुष्टि भयो भने कारबाही हुन्छ ।’

शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ मा आफ्नो सेवासम्बन्धी कुरामा मतलब साध्य गर्ने मनसायले कसैमाथि कुनै पनि राजनीतिक दल वा अवान्छनीय प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने उल्लेख भएको सूचना अधिकारी नन्दबहादुर विश्वकर्माले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully