हाङ्देवामा भालु आतङ्क

नागरिकलाई सचेत भएर यात्रा गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

पुस ६, २०८२

आनन्द गौतम

Bear terror in Hangdewa

ताप्लेजुङ — फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुको आतङ्क बढेको छ । दुई परिवारका पाँचवटा पशुचौपायमा क्षति पुर्‍याएपछि मानिस हिँडडुलमा चुनौती भएको वडाध्यक्ष लक्षुमन गुरुङले बताए ।

भगिमान गुरुङका तीनवटा खसी, नारायणप्रसाद गुरुङको एउटा खसी र एउटा भेंडो भालुले आक्रमण गरी मारिदिएको हो ।

सदरमुकाम फुङलिङबाट हाङ्देवा बस्ती जाने बाटो जङ्गलको भएको र बिहान दूध पुर्‍याउने लगायत धेरैले हिँडडुल गर्ने र दिउँसो घाँस-दाउरा गर्नेको संख्या पनि धेरै हुने भएकाले नागरिकलाई सचेत भएर यात्रा गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

अघिल्लो महिना पाथीभरा याङवरक- २ थेचम्बुमा एक महिलालाई भालुले आक्रमण गरी घाइते बनाएको थियो । डिभिजन वन कार्यालयका निमित्त प्रमुख ललितकुमार यादवले यस क्षेत्रमा हिमाली कालो भालु हुन सक्ने बताए ।  'यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,' यादवले भने ।

२०७८ सालमा पनि सदरमुकाममा रहेको जिल्ला अस्पतालसम्म भालु आएको थियो ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully