जिल्ला सुरक्षा समिति मतदान स्थल र केन्द्रको अवस्था निरीक्षण तथा सुरक्षा योजनाको तयारीमा जुटिरहँदा राजनीतिक दलका निर्वाचनलक्षित गतिविधि भने नगन्य छन् ।
What you should know
धनकुटा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी अघि बढाएका छन् । निर्वाचन कार्यालयले आयोगको कार्य तालिकाअनुसार काम अघि बढाएको छ ।
जिल्ला सुरक्षा समिति मतदान स्थल र केन्द्रको अवस्था निरीक्षण तथा सुरक्षा योजनाको तयारीमा जुटिरहँदा राजनीतिक दलका निर्वाचनलक्षित गतिविधि भने नगन्य छन् ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा जिल्ला सुरक्षा समिति मतदान स्थल र केन्द्रको निरीक्षण–अनुगमनमा जुटेको छ । प्रमुख जिल्ला अधिकारी खड्का, प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देल र नेपाली सेनासहितको सुरक्षा संयन्त्र गाउँ–गाउँ पुगेर सुरक्षा व्यवस्थाको प्रभावकारिता जाँच, प्रशासनिक कमजोरी सुधार तथा स्थानीयसँग भेटघाट गरी निर्वाचनप्रति जनविश्वास अभिवृद्धि गर्ने प्रयास गरिरहेको छ ।
प्रमुख जिल्ला अधिकारी खड्का भन्छन्, ‘मतदान स्थलको अवस्था कस्तो छ, सुरक्षा व्यवस्थापन कसरी गर्न सक्छौँ, मतपेटिकाको ढुवानी कसरी गर्ने, सम्बन्धित स्थानमा मतपत्र कसरी पुर्याउने भन्ने विषयमा स्थलगत अनुगमन गरिरहेका छौँ ।’
धनकुटामा चार नगरपालिका र तीन गाउँपालिका गरी सात वटा स्थानीय तह छन् । सबै स्थानीय तहमा अघिल्ला निर्वाचनमा तोकिएका मतदान स्थल र केन्द्रमा पुगेर अनुगमन गरी अवस्था विश्लेषण गर्ने काम भइरहेको खड्काको भनाइ छ । यसका साथै स्थानीय मतदातासँग अन्तरक्रिया पनि भइरहेको उनले बताए ।
जिल्लाको सुरक्षा संयन्त्र भूगोल र सडकको अवस्था, जोखिम मूल्याङ्कन, जनशक्ति परिचालन, भौतिक सुरक्षा व्यवस्थापन, मतपेटिका र मतदान सामग्री ढुवानी, भिड नियन्त्रण, आकस्मिक व्यवस्थापन, प्रभावकारी समन्वय र सञ्चारका लागि स्थलगत अध्ययन र रणनीतिक योजना निर्माणमा जुटेको प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीको भनाइ छ । उनले भने, ‘कुन केन्द्रमा कति सुरक्षाकर्मी खटाउने, प्रहरीको मोबाइल र रिजर्भ टोली परिचालन, क्विक रेस्पोन्स, प्रभावकारी सम्पर्क र मद्दत व्यवस्थापनका लागि बाटोघाटो र भूगोलको समेत अध्ययन गरिरहेका छौँ ।’
प्रहरी उपरीक्षक थापा क्षेत्रीले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र कोसी प्रदेश प्रहरी कार्यालयबाट प्राप्त निर्देशनअनुसार सुरक्षा योजना तयार पारिरहेको बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदान स्थल तय भएका छन् । मतदान स्थलको टुंगो लागे पनि मतदान केन्द्रको संख्या भने केही थपघट हुन सक्ने बताइएको छ । अघिल्ला निर्वाचनमा धनकुटाका १ सय १९ मतदानस्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ अति संवेदनशील सूचीमा राखिएका थिए । तिनै मतदान स्थल र केन्द्रको स्थलगत अनुगमन गरी थप सुरक्षा विश्लेषण र स्तर निर्धारण गरिने बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले पनि आयोगको कार्यसूचीअनुसार काम गरिरहेको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीका अनुसार मतदाता नामावली अद्यावधिक, दाबी–विरोधको काम चलिरहेको छ । उनले भने, ‘एकै वडाभित्र आफूलाई पायक पर्ने केन्द्र रोजेर परिवर्तन गर्न सकिन्छ । मतदाता विवरणका त्रुटि सच्याउने, मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउने र अन्तिम नामावली प्रकाशनको तयारी गर्दैछौँ ।’
आयोगले निर्वाचन तयारी सुरु गरिसके पनि गाउँघरमा राजनीतिक दलका निर्वाचनलक्षित गतिविधि देखिँदैनन् । दलगत भेला र उम्मेदवारको चर्चा–परिचर्चा नहुँदा निर्वाचन आउँदै गरेको अनुभूति नै नभएको स्थानीय बताउँछन् । छथर जोरपाटी गाउँपालिकाका परेवा डाँडाका कमल चापागाईँ गाउँघरमा निर्वाचन लक्षित कुनै गतिविधि नदेखिएको बताउँछन् । उनले कुनै पनि दलका व्यक्ति गाउँमा नदेखिएको जनाए । भन्छन्, ‘चुनाव सुनेको मात्रै हो, कोही आएका छैनन् । नेता, पार्टी कोही छैनन् । सुनसान छ । प्रहरीको गस्ती कहिलेकाहीँ देखिन्छ, अरू छैन ।’
चुलाचुलीका मणिकर्ण दाहाल पनि चुनावले नछोएको बताउँछन् । आफू निर्वाचन हुनुपर्छ भन्ने पक्षमा भए पनि चुनाव आएको जस्तो नलागेको उनले बताए । ‘खै त यो दल, उ दल भन्ने केही छैन,’ उनले भने, ‘उम्मेदवारको चर्चा पनि छैन, मान्छे पनि देखिएका छैनन् ।’
निर्वाचनका लागि प्रशासनिक तयारी अघि बढे पनि दलका निर्वाचन केन्द्रित गतिविधि एकदमै न्यून छन् । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले आफ्नो पार्टी निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार रहेको बताए । पार्टीको महाधिवेशनमा केन्द्रित हुनुपरेकाले निर्वाचनमा फोकस कम भएको उनले बताए । भन्छन्, ‘अनौपचारिक जमघट र औपचारिक भेलामा पार्टीको आन्तरिक महाधिवेशन र प्रतिनिधिसभा निर्वाचन दुवैलाई अघि बढाइरहेका छौँ ।’
यता एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बुले निर्वाचनको सम्भावना नरहेको बताए । भन्छन्, ‘अहिलेको सरकारले निर्वाचन गराउन सक्दैन । नहुने निर्वाचनको अलमलमा हामी फस्दैनौँ ।’ उनले संसद् पुनःस्थापना हुनुपर्ने र पुनः स्थापित संसद्ले पछि निर्वाचन गराउने दृढता व्यक्त गरे ।
नेपाली कम्युनिस्ट पार्टीका नेता हेमचन्द्र किरातीले पार्टी समायोजनका कामले केही अलमल भए पनि आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको बताए । उनले आन्तरिक तयारी सकेर निर्वाचनका लागि फिल्डमा निस्कने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश सदस्य दीपक गुरागाईंले १४ वटै जिल्लामा संगठन विस्तार र प्रतिनिधिसभाका लागि उम्मेदवार प्रारम्भिक छनोट प्रक्रिया सुरु भइसकेको बताए । उनले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिन चाहनेबाट आवेदन लिइरहेको जानकारी दिए ।
