विराटनगरमा ‘मिडिया तथा सूचना साक्षरता’ जागरण र्‍याली 

विद्यार्थीहरूले रचनात्मक फ्ल्यासमोब प्रदर्शनमार्फत मिडियाको जिम्मेवार प्रयोग, गलत सूचना तथा अफवाहले समाजमा पार्ने प्रभाव र सूचना साझा गर्नुअघि सत्यता जाँच गर्नुपर्ने सन्देश प्रस्तुत गरेका थिए ।

पुस ४, २०८२

कान्तिपुर संवाददाता

विराटनगर — युवा नेतृत्वमा सञ्चालित हामी हामी इन्जिनियर्सको आयोजना तथा सेन्टर फर मिडिया रिसर्च–नेपाल (सीएमआर–नेपाल) र इन्जिनियर्स विदआउट बोडर्स नेपाल (पूर्वाञ्चल विश्वविद्यालय) को सहकार्यमा विराटनगरमा ‘मिडिया तथा सूचना साक्षरता जागरण फ्ल्यासमोब तथा र्‍याली’ शुक्रबार सम्पन्न भएको छ ।

बिहान ७ बजे बरगाछी चोकमा सहभागीहरूको भेलासँगै र्‍याली सुरु भएको थियो । अभियानमा विभिन्न संघ–संस्था, शैक्षिक संस्थाहरू तथा युवा समूहको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यार्थीहरूले रचनात्मक फ्ल्यासमोब प्रदर्शनमार्फत मिडियाको जिम्मेवार प्रयोग, गलत सूचना तथा अफवाहले समाजमा पार्ने प्रभाव र सूचना साझा गर्नुअघि सत्यता जाँच गर्नुपर्ने सन्देश प्रस्तुत गरेका थिए ।

बरगाछी चोकबाट सुरु भएको र्‍याली दुर्गा चोक हुँदै पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ सम्म पुगेको थियो। र्‍यालीका क्रममा प्लेकार्ड, ब्यानर र नारामार्फत मिडिया तथा सूचना साक्षरतासम्बन्धी सन्देश समुदायमा प्रभावकारी रूपमा प्रवाह गरिएको थियो। कार्यक्रममा युवा, विद्यार्थी, मिडियाकर्मी तथा सामाजिक अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

सामाजिक अभियन्ता पूजा विश्वासले समुदायस्तरबाटै मिडिया तथा सूचना साक्षरता प्रवर्द्धन गर्न यस्ता रचनात्मक अभियान प्रभावकारी माध्यम भएको बताइन् । 

कार्यक्रम संयोजक गणेश कुमार झाले सम्पूर्ण कार्यक्रमको व्यवस्थापन र समन्वय प्रभावकारी रूपमा सम्पन्न भएको जानकारी गराउँदै सहभागी सबै संघ–संस्था तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरे। 

आयोजक संस्थाका संस्थापक अध्यक्ष ह्यापीकुमार देवले मिडिया तथा सूचना साक्षरता आजको आवश्यकता मात्र नभई सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता सचेतनामूलक अभियानलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे। 

कान्तिपुर संवाददाता

Link copied successfully