भारतको सहयोगमा दिदिङमा आकर्षक विद्यालय भवन

नेपाल सरकारको प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, ग्रामीण विद्युतीकरण लगायतका क्षेत्रमा भारतले निरन्तर सहयोग गर्दै आएको छ ।

पुस ४, २०८२

दीपेन्द्र शाक्य

Attractive school building in Diding with Indian assistance

What you should know

संखुवासभा — चिचिला गाउँपालिका–३ दिदिङस्थित दिदिङ आधारभूत विद्यालयका लागि आकर्षक भवन निर्माण सम्पन्न भएको छ । ४ करोड १४ लाख ८ हजार २ सय ८९ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

भारत सरकारको ८० प्रतिशत र चिचिला गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको भवन समुदाय विकास परियोजनाअन्तर्गत सम्पन्न भएको भवनको बिहीबार उद्घाटन गरिएको हो।

भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले भारत सरकारको समुदाय विकास परियोजनाअन्तर्गत विद्यालय भवन निर्माणमा सहयोग प्रदान गरिएको स्पष्ट पारे । नेपाल सरकारको प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, ग्रामीण विद्युतीकरण लगायतका क्षेत्रमा भारतले निरन्तर सहयोग गर्दै आएको उनले बताए ।

नन्दनले भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपालका विद्यालय र स्वास्थ्य संस्थालाई स्कुल बस तथा एम्बुलेन्स उपलब्ध गराउँदै आएको जानकारी दिँदै हालसम्म नेपालभर १ हजार ४९ वटा एम्बुलेन्स र ३ सय ८१ वटा स्कुल बस प्रदान गरिसकिएको बताए । संखुवासभा जिल्लामा मात्र १५ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस उपलब्ध गराइसकेको छ।

नेपाल संकटमा पर्दा सबैभन्दा पहिला सहयोग गर्ने देश भारत रहेको दाबी गर्दै नन्दनले आगामी दिनमा पनि नेपाल–भारत सहकार्य अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले भारत सरकारले शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे। उनले जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि समेत भारतको सहयोग रहेको जानकारी गराउँदै अरुण तेस्रो जलविद्युत् परियोजनामा देखिएका केही विवाद स्वाभाविक भएको र ती समस्या वार्ता तथा छलफलबाट समाधान गर्दै आएको बताए ।

दीपेन्द्र शाक्य

Link copied successfully