खोटाङमा १ अर्ब ३५ करोड बढीको अलैंची उत्पादन

कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानका अनुसार यो वर्ष १३ हजार ५ सय ६६ मन अलैंची उत्पादन भएको हो ।

पुस ३, २०८२

डम्बरसिं राई

Cardamom production worth over Rs 1.35 billion in Khotang

What you should know

खोटाङ — जिल्लामा एक अर्ब ३५ करोड बढीको अलैंची उत्पादन भएको छ । यो वर्ष जिल्लाको १ हजार ६४ हेक्टरमा ५ सय ४२.६४ मेट्रिक टन अलैंची उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानका अनुसार यो वर्ष १३ हजार ५ सय ६६ मन अलैंची उत्पादन भएको हो । प्रतिमन १ लाख रूपैयाँको दरले १ अर्ब ३५ करोड ६६ लाख रूपैयाँ बराबरको अलैंची उत्पादन भएको चौहानले बताए ।  

खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका बलजीत राईले अलैंचीबाट ५६ लाख ५० हजार आम्दानी गरेका छन् । त्यस्तै सावाकटहरेका वडाअध्यक्ष जेफर राईले पनि अलैंचीबाट ३६ लाख कमाएका छन् । उक्त वडाबाट मात्रै यो वर्ष ७ करोड रूपैयाँको अलैंची निकासी भएको वडाअध्यक्ष राईले सुनाए । 

खोटेहाङ गाउँपालिकामा ४५.५७ मेट्रिकटन अलैंची उत्पादन भएको छ । उक्त गाउँपालिकाको १ सय १०.२ हेक्टरमा उक्त अलैंची उत्पादन भएको गाउँपालिकाका सूचना अधिकारी रोशन पौडेलले बताए । याे पालिकामा गत वर्ष ४२.०८ मेट्रिक टन अलैंची उत्पादन भएको पौडेलले जनाए ।

सबैभन्दा बढी अलैंची केपिलासगढी गाउँपालिकामा उत्पादन भएको छ । उक्त पालिकाका कृषि शाखा प्रमुख कृष्ण बस्नेतका अनुसार केपिलासगढीमा ३ सय ६६ हेक्टरमा ४ सय ४५ मेट्रिक टन उत्पादन भएको छ । यसबाट २२ करोड २५ लाख हुने बस्नेतले बताए । उक्त गाउँपालिकामा गत वर्ष २५ करोड रूपैयााको अलैंची निकासी भएको थियो ।

साकेला गाउँपालिकामा ८० हेक्टरमा २२ मेट्रिक टन अलैंची उत्पादन भएको कृषि शाखा प्रमुख हेमन्त राउतले बताए । त्यस्तै त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा करिब ३ सय १० मन उत्पादन भएको कृषि शाखा प्रमुख एलबी मगरले बताए । अलैंचीबाट उक्त पालिकामा करिब तीन करोड रूपैयाँ हुने मगरले सुनाए ।

ऐसेलुखर्क गाउँपालिकामा २१ हेक्टरमा ९.५ मेट्रिकटन उत्पादन भएको पालिकाले जनाएको छ । किसानले यो वर्ष प्रतिमन ८५ हजारदेखि १ लाख ५ हजार रूपैयाँसम्म ठेकेदारलाई अलैंची बेचेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय सचिव प्रेमकुमार राईले बताए । नेपालको अलैंची भारतको ट्रेडमार्कबाट कारोबार गर्नुपर्ने बाध्यताले गर्दा भारतीय व्यापारीको अनुकूलतामा मूल्य घटबढ हुने गरेको राईले सुनाए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully