नेपाल पत्रकार महासंघ मोरङमा आयोजित अन्तरक्रियामा सुरक्षा निकाय, अधिकारकर्मी र सञ्चारकर्मीहरूले जिम्मेवार पत्रकारिता, सहकार्य र एकताको आवश्यकता रहेको औंल्याए ।
What you should know
विराटनगर — देश अहिले संवेदनशील अवस्थामा रहेको र निर्वाचन नजिकिँदै जाँदा शान्ति–सुरक्षाको सवाल थप चुनौतीपूर्ण बनेको सरोकारवालाले बताएका छन् ।
फ्रि मिडिया नेटवर्कको आयोजनामा बुधबार नेपाल पत्रकार महासंघ मोरङमा आयोजित अन्तरक्रियामा सुरक्षा निकाय, अधिकारकर्मी र सञ्चारकर्मीहरूले जिम्मेवार पत्रकारिता, सहकार्य र एकताको आवश्यकता औंल्याएका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले वर्तमान अवस्थामा सहकार्य, अपनत्व र एकता अत्यावश्यक रहेको बताए । तरलताको अवस्था रहेको उल्लेख गर्दै उनले करिब ९ हजार कैदी फरार, प्रहरीका हतियार र बर्दीसमेत लुटिएको जस्ता घटनाले सुरक्षा चुनौती बढाएको बताए । शान्ति–सुरक्षाको सवालमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले सुरक्षा अनुभूति दिलाउने काम पत्रकार जगतको पनि जिम्मेवारी भएको धारणा राखे । उनले थपे, 'निर्वाचन नजिकिँदै छ, यस्तो बेला सञ्चार जगतको भूमिका महत्त्वपूर्ण रहन्छ ।'
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालले संवेदनशील समयमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै आसन्न निर्वाचनलाई सुरक्षित ढंगले सम्पन्न गर्न पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । उनले सुरक्षा निकाय र सञ्चारमाध्यमबीच सहकार्य अपरिहार्य भएको धारणा व्यक्त गरिन् ।
अधिकारकर्मी गीताञ्जली शर्माले रिपोर्टिङमा पीडित-पीडक दुवै पक्षको कुरा समेटिनु पर्नेमा जोड दिँदै मिथ्या र वास्तविक समाचार कसरी चिन्ने भन्ने विषय पत्रकार र पाठक दुवैका लागि चुनौती बनेको बताइन् ।
अग्रज पत्रकार यज्ञ शर्माले अहिले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल बढी प्रभावकारी देखिएको उल्लेख गर्दै त्यसले मूलधारका मिडियालाई चुनौतीपूर्ण अवस्थामा पुर्याएको बताए । तर, मूलधारका मिडिया अझै पनि जिम्मेवार र विश्वसनीय हुने भएकाले तिनलाई बलियो बनाउनु जरुरी रहेको उनको भनाइ थियो ।
अर्का अधिकारकर्मी विष्णु शर्माले सामाजिक सञ्जालले नकारात्मक र झुटा सूचनालाई प्रोत्साहन गरिरहेको भन्दै त्यसले सर्वसाधारणलाई सही र सत्य सूचनाबाट वञ्चित बनाइरहेको बताइन् । उनले सही र गलत पत्रकारिताको भेद छुट्याउनु आजको आवश्यकता भएको उल्लेख गरिन् ।
अन्तरक्रियामा इन्टरनेसनल एलर्टका प्रतिनिधिहरू प्रतिष्ठा थापा र रबिना श्रेष्ठ तथा पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकलगायतले जिम्मेवार पत्रकारिता, तथ्यमा आधारित समाचार र सुरक्षा निकायसँगको सहकार्यले मात्रै वर्तमान चुनौती सामना गर्न सकिने धारणा राखेका थिए ।
