इलामको रोङ गाउँपालिकाको जोरकलशदेखि हर्कटेसम्म करिब १५ किलोमिटर खण्डमा रहेको साँघुरो र जोखिमपूर्ण मोड सुधार गरी सडक चौडा बनाउने काम अघि बढाइएको हो ।
What you should know
इलाम — पूर्वी नेपालका पहाडी जिल्लासँग तराईलाई जोड्ने प्रमुख सडक सञ्जाल मेची राजमार्गमा घुम्ती (मोड) सुधारको काम धमाधम सुरु भएको छ । इलामको रोङ गाउँपालिकाको जोरकलशदेखि हर्कटेसम्म करिब १५ किलोमिटर खण्डमा रहेको साँघुरो र जोखिमपूर्ण मोड सुधार गरी सडक चौडा बनाउने काम अघि बढाइएको हो । अहिले भीर काट्ने र टेवा पर्खाल लगाउने काम तीव्र रुपमा भइरहेको छ ।
साँघुरो सडक र तीव्र घुम्तीका कारण यस खण्डमा बारम्बार सवारी दुर्घटना हुने गरेको छ । यात्रु तथा चालक दुवैका लागि जोखिमपूर्ण बनेको यो सडक खण्डलाई सुरक्षित बनाउन मोड सुधार योजना प्रभावकारी हुने अपेक्षा गरिएको डिभिजन सडक कार्यालय इलामका वरिष्ठ डिभिजन इन्जिनियर पवन भट्टराईले जनाए । उनका अनुसार सडक दुर्घटना न्यूनीकरण नै योजनाको मुख्य उद्देश्य हो ।‘सानो सडक र साँघुरो घुम्तीले दुर्घटना बढाएको थियो,’ उनले भने, ‘यो योजना सम्पन्न भएपछि घुम्तीहरू सहज र यात्रा सुरक्षित हुने अपेक्षा छ ।’
यो योजनाको ठेक्का झापा दमकस्थित जेएन्डजे निर्माण सेवाले पाएको छ । गत असारमा ठेक्का सम्झौता भए पनि प्राविधिक तयारी र मौसमका कारण ढिलोगरी काम सुरु गरिएको हो । करिब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको यो योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जोरकलशदेखि हर्कटेसम्म साना–ठूला दर्जनौं घुम्ती छन् । ती सबै घुम्ती सुधार गर्दै सडक चौडा गर्ने योजना रहेको इन्जिनियर भट्टराईले जानकारी दिए । यसै योजनाअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा बारम्बार समस्या दिने पहिरो रोकथामको काम पनि गरिनेछ । पहिरोका कारण बर्सेनि सडक अवरुद्ध हुँदै आएको उक्त क्षेत्रमा स्थायी समाधान खोजिने डिभिजन सडक कार्यालयको भनाइ छ ।
मेची राजमार्ग पूर्वी नेपालको विकाससँग गहिरो रूपमा जोडिएको छ । होचो भूभाग झापाको कचनकवलबाट सुरु भई इलाम हुँदै ताप्लेजुङसम्म पुग्ने यो राजमार्ग पहाड र तराईलाई जोड्ने जीवनरेखाका रूपमा लिइन्छ । चिया, अलैंची, अदुवा, दूध तथा अन्य कृषि उपज तराईका बजारसम्म पुर्याउन यही सडक मुख्य आधार हो । साथै इलाम, पाँचथर र ताप्लेजुङतर्फ जाने यात्रु तथा पर्यटकका लागि पनि मेची राजमार्ग अपरिहार्य मार्ग हो ।
रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) का अनुसार पहाडी भू–बनोटका कारण यो राजमार्ग निर्माणदेखि नै चुनौतीपूर्ण रहँदै आएको छ । तीव्र मोड, साँघुरो सडक र पहिरोको जोखिमले गर्दा यात्रा सधैं असहज बन्ने गरेको छ । यही कारण समय–समयमा सुधार र स्तरोन्नतिको माग उठ्दै आएको थियो ।
‘हाल सुरु भएको मोड सुधार योजनाले यात्राको समय घटाउने, सवारी साधनको सञ्चालन सहज बनाउने र दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा छ’, अध्यक्ष स्याङ्वोले भने । स्थानीयवासी र नियमित यात्रुहरू पनि काम समयमै सम्पन्न भई सुरक्षित सडक पाउन सकिने आशामा छन् । पूर्वी पहाड–तराईको सम्बन्ध मजबुत बनाउँदै आएको मेची राजमार्गलाई सुरक्षित र भरपर्दो बनाउने यो प्रयासलाई स्थानीयवासीले दीर्घकालीन विकासतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिरहेका छन् ।
