फिदिम नगरपालिकाको आयोजनामा सम्पन्न शिविरमा ५८५ भन्दा बढी बिरामीको परीक्षण र निःशुल्क उपचार गरिएको छ, जसमा छिमेकी जिल्लाका नागरिकसमेत सहभागी थिए।
What you should know
पाँचथर — दुर्घटनामा परेर शरीर तथा हात–खुट्टा वा शरीरका कुनै पनि अंगमा राखिएका स्टिल रड झिक्न र आवश्यक परेका स्थानमा राख्नका लागि पहुँच नपुगेका नागरिकलाई लक्षित निःशुल्क हाडजोर्नी शिविरमा १ सय ७२ जनाको शल्यक्रिया सफल भएको छ।
फिदिम नगरपालिकाको आयोजना तथा सोलुखुम्बु पोलिटेक्निक एकेडेमीको प्राविधिक सहयोगमा सदरमुकामस्थित पाँचथर जिल्ला अस्पतालमा आयोजित १५ दिने शिविरमा यति नागरिकलाई सेवा दिइएको हो।
मंसिर १५ देखि २९ गतेसम्म सञ्चालन भएको शिविरमा हाडजोर्नी र नसासम्बन्धी समस्या भएका थप ५ सय ८५ जना बिरामीको परीक्षण भएको आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताए ।
शिविरमा पाँचथरसहित छिमेकी जिल्ला ताप्लेजुङ र तेह्रथुमसम्मबाट आएका बिरामीले लाभ लिएका छन्।
शिविर सञ्चालन अवधिमा विभिन्न किसिमका दुर्घटनामा परेर हाडजोर्नी टुटेका, भाँचिएका र टुक्रिएका बिरामीको समेत निःशुल्क उपचार गरिएको काफ्लेको भनाइ छ।
शल्यक्रिया र परीक्षणका लागि बेल्जियमबाट आएका एक जना हाडजोर्नी विशेषज्ञसहित १० जना स्वास्थ्यकर्मी खटिएका थिए।
आर्थिक रूपमा विपन्न तथा स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई लक्षित गरेर शिविर आयोजना गरिएको हो।
नगरपालिकाले बर्सेनि यस्ता शिविर सञ्चालन गर्दै आएको छ। विशेषतः पहाडी भूभागमा घाँस–दाउरा काट्दा, खेतबारी जोत्दा, गोलिया काट्दा र सवारी दुर्घटनामा पर्दा हाडजोर्नीमा समस्या आउने गर्छ। टुटफुट भएका हाडजोर्नीमा स्टिल रड राखेर उपचार गरेपछि ठीक भएपछि ती स्टिल रड झिक्नुपर्ने भए पनि आर्थिक अभावका कारण सम्भव नभएका नागरिकको संख्या उल्लेख्य छ।
आर्थिक अभावका कारण शरीरमा स्टिल रड र किलाकाँटी बोकेर हिँडिरहेका नागरिकलाई सेवा दिन यस्ता शिविर आयोजना गर्दै आएको नगरपालिकाले जनाएको छ।
शिविरको सोमबार समापन गरिएको छ। समापन समारोहमा बोल्दै नगरप्रमुख काफ्लेले ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई लक्षित स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
