जीर्ण कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

५० जना क्षमताको उदयपुर कारागारमा हाल २३२ जना कैदी राखिएको छ, भवनको छत र पर्खाल चर्किएर जोखिम बढेको छ, बजेट अभावले अवस्था झन् जटिल छ।

पुस १, २०८२

राकेश नेपाली

Dilapidated prison houses four times more prisoners than capacity

What you should know

उदयपुर — ५० जना क्षमता रहेको उदयपुर कारागारमा क्षमताभन्दा चार गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। २०३६ सालमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बनाइएको जिल्ला कारागारमा अहिले २२२ जना पुरुष र १० जना महिला कैदीबन्दी राखिएका छन्।

कारागार भवनको छत, पर्खाललगायतका भौतिक संरचना चर्किएर जीर्ण भएका कारण जोखिम बढेको कारागार प्रशासनले जनाएको छ। २०० जना क्षमताको कारागार निर्माणका लागि डीपीआर निर्माण गरी चार वर्षअघि नै अर्थ मन्त्रालयमा फाइल पेश गरे पनि मन्त्रालयले बजेट विनियोजन नगर्दा कैदीबन्दी जीर्ण भवनमा जोखिम मोलेर बस्न बाध्य भएको कारागार प्रशासक उज्ज्वल सुवेदीले बताए।

‘५० जना क्षमताको कारागारमा चार गुणाभन्दा बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा निकै असहज छ, भवन जीर्ण भएकाले जोखिम पनि उस्तै छ,’ उनले भने। ठाउँ सानो भएकाले खेलकुद, शारीरिक व्यायामजस्ता क्रियाकलाप गर्न असहज हुने गरेको उनले बताए।

उदयपुर कारागारमा हाल अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गरिरहेका १३८ जना पुरुष र ६ जना महिला रहेका छन्। अदालतमा मुद्दा चालु अवस्थामा रहेर पुर्पक्षमा रहेका ८४ जना पुरुष र ४ जना महिला रहेका छन्। नियमित औषधि खाइरहनुपर्ने १४ जना दीर्घरोगी रहेको कारागार प्रशासनले जनाएको छ।

कारागार प्रशासनका अनुसार कैदीबन्दीको सामान्य स्वास्थ्य उपचारका लागि एक जना अहेवको दरबन्दी रहेको छ भने जटिल प्रकारका बिरामीलाई जिल्ला अस्पताल तथा अन्य अस्पतालमा उपचारका लागि लैजाने गरिएको कारागार प्रशासक सुवेदीले बताए।

कैदीबन्दीले दैनिक ८० रुपैयाँका दरले राज्यबाट पाउने सिदा उनीहरूका लागि पर्याप्त नभएकाले सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ। ‘कैदीबन्दीले बिहान–बेलुका गरी दुई छाक खाना, खाजा सहित दैनिक ८० रुपैयाँ मात्रै राज्यबाट पाउने गरेका छन्, जुन उनीहरूका लागि अपर्याप्त छ,’ उनले भने, ‘हुनेखाने परिवारले त घरबाटै पनि खाना, खाजा खर्च पठाउने गरेका छन् तर विपन्न परिवारका कैदीबन्दीलाई समस्या छ।’

भदौ २४ गतेको घटनामा अन्य कारागारबाट कैदीबन्दी भागेका भए पनि उदयपुर कारागारको आन्तरिक प्रशासन सम्हाल्दै आएका नाइके/भाइ नाइकेहरू असल चरित्र भएका कारण त्यस्तो घटना नभएको उनले बताए।

यद्यपि देशका विभिन्न कारागारबाट उदयपुर घर भएका ९२ जना कैदीबन्दी फरार भएकोमा हालसम्म १६ जनालाई प्रहरीले फेला पारेर कारागारको जिम्मा लगाएको कारागार प्रशासक सुवेदीले बताए। उनका अनुसार फेला परेकामध्ये १० जनालाई सम्बन्धित कारागारमा बुझाइसकिएको र ६ जनालाई उदयपुर कारागारमै राखिएको छ।

कैदीबन्दीको आयआर्जनका लागि मुढा बुन्ने, टोपी बनाउनेलगायतका सिपमूलक तालिम सञ्चालन गरिएको र उनीहरूले उत्पादन गर्ने सामान बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully