आर्थिक कठिनाइले संकटमा धनकुटाको विश्रान्ति संस्कृत गुरुकुल

आर्थिक अभावकै कारण धार्मिक शिक्षा लिँदै आएका बटुकको पढाइ लेखाइ प्रभावित हुने अवस्था आएको हो ।

पुस १, २०८२

विनोद घिमिरे

Dhankuta's Vishranti Sanskrit Gurukul in crisis due to financial difficulties

What you should know

धनकुटा — हिन्दू धर्मका पण्डित र पुरोहित उत्पादन तथा श्रुति परम्पराको निरन्तरताका लागि चार वर्षअघि मुलघाटस्थित विश्रान्तिधाममा स्थापना भएको बिश्रान्ति गुरुकुल सञ्चालनमा कठिनाई भएको छ । 

आर्थिक अभावकै कारण धार्मिक शिक्षा लिँदै आएका बटुकको पढाइ लेखाइ प्रभावित हुने अवस्था आएको हो । संस्कृत भाषा, व्याकरण, वेद, कर्मकाण्ड, आधुनिक नेपाली, अंग्रेजी, गणित र अन्य सामाजिक विधाको पढाइ सञ्चालन गर्दै आएको विश्रान्ति संस्कृत गुरुकुलको कक्षा ६ देखि ९ सम्म ३५ जना बटुक अध्ययनरत छन् । 

गुरुकुलमा कार्यरत शिक्षक शौरभ पोख्रेल विश्रान्ति गुरुकुलमा बटुकहरुले पूर्वीय र पाश्चात्य दुवै शिक्षा ग्रहण गरिरहेको बताउँछन् । मातृकुलिय, पितृकुलिय, गुरुकुलिय र पाश्चात्य शिक्षा प्रदान गर्दै आएको उनले बताए । 

अहिले यो गुरुकुलमा अध्ययनका लागि कोशी प्रदेशका प्रायःसबै जिल्लाबाट बटुकहरु पुगेका छन् । यद्यपी आवासीय सुविधासहितको गुरुकुल सञ्चालनमा भने कठिनाई उत्पन्न हुँदै गएको छ । विश्रान्ति संस्कृत गुरुकुल सञ्चालनका लागि विश्रान्ति मन्दिर व्यवस्थापन समितिले एक करोड रुपैयाँको अचल कोष सञ्चालनमा ल्याएको थियो । 

चार वर्षअघि मासिक १२ प्रतिशत ब्याजदर पाउने गरि राखिएको उक्त रकमबाट वार्षिक करिब १२ लाख रुपैयाँ प्राप्त हुन्थ्यो । तर अहिले बैंकले ब्याजदर १२ प्रतिशतबाट घटाएर २ दशमलव ५७ प्रतिशतमा झारेको छ । कोरोना महाभारी पछि बैंकहरुको ब्याजदर निरन्तर घट्दा गुरुकुल सञ्चालनमा समस्या भएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे बताउँछन् ।

Dhankuta's Vishranti Sanskrit Gurukul in crisis due to financial difficulties

गुरुकुल विश्रान्ति मन्दिर व्यवस्थापन समितिबाटै सञ्चालित छ । तर यसको थप रेखदेख र व्यवस्थापनका लागि लीलानाथ मिश्रको नेतृत्वमा उपसमिति बनाइएको छ । ‘बैंकमा राखिएको पैसाको ब्याज बढ्न सकेन, गुरुकुल चलाउानै मुस्किल भयो,’ गुरुकुल चलाउँनकै लागि अभिभावक अभियान चलाइएको घिमिरेले बताए । 

व्यवस्थापनले दानस्वरुप पााच लाख रुपैयाँ उपलब्ध गराउाने ब्यक्तिलाई ‘अभिभावक’ मान्ने गरेको बताए । पाँच लाख रुपैयाँको व्याजले एकजना बटुकको वर्षभरीको भरणपोषण र पढाइलेखाइ खर्च धान्छ भन्ने योजनाले आफूहरुले अभिभावक आह्वान कार्यक्रम चलाएको घिमिरेको भनाइ छ ।

तर त्यो लक्ष्य योजना अनुसार अघि बढेको छैन । सरकारबाट वार्षिक ५ लाख रुपैयाँ परम्परागत विद्यालय सञ्चालन अनुदान प्राप्त हुन्छ । यसबाहेक गुरुकुल सञ्चालनको मुख्य आधार दाताहरूको दानदातव्य नै हो । २०३९ सालमा स्थापना भएको विश्रान्ति बृद्धाश्रम परिषरमै यो गुरुकुल सञ्चालनमा छ ।

गुरुकुलमा कार्यरत आचार्य पारिश्रमिक, बटुकको भरणपोषण, भान्छे र सहयोगी गरी ४० जना छन् । उनीहरूको दैनिक खाना, खाजा, आवास, पोशाक, कापी, किताब र सामान्य उपचारलगायतका व्यवस्थापनमा वार्षिक करिब ३० लाख रुपैयाँ खर्च हुने गरेको छ । अचल कोषको घट्दो ब्याजदर र दानदातव्यमा भएको कमीका कारण गुरुकुल सञ्चालनमा कठिनाइ भएको हो । 

दीर्घकालीनरूपमा गुरुकुल सञ्चालनका लागि सरकार र स्थानीय समुदायको चासो तथा सहकार्य आवश्यक रहेको महासचिव घिमिरेको भनाइ छ ।

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully