बाँझो जग्गालाई लक्षित गरी आँप ब्लक विकास कार्यक्रम लागू गर्ने तयारी भएपनि कार्यक्रम सञ्चालनका लागि तोकिएको छथर जोरपाटी गाउँपालिकाबाट एउटा पनि निवेदन परेको छैन।
What you should know
धनकुटा — कृषि ज्ञान केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वय नहुँदा धनकुटामा सुरु गर्न लागिएको आँप खेतीको ब्लक विकास कार्यक्रम कार्यान्वयनमा अन्योल देखिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्र धनकुटामार्फत छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको करिब १ हजार ४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
छथर जोरपाटी गाउँपालिकाको सिंभूवा, बन्चरे, पाथीभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ तथा हाक्तिखर्कको तल्लो क्षेत्र आँप उत्पादनका लागि सम्भाव्य रहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए ।
ब्लक कार्यक्रम सञ्चालनका लागि केन्द्रले मंसिर १० गते सार्वजनिक सूचना प्रकाशित गरेको थियो । तर १५ दिनको म्याद सकिँदा पनि कार्यक्रम सञ्चालनका लागि तोकिएको छथर जोरपाटी गाउँपालिकाबाट एउटै पनि आवेदन नपरेको रानाको भनाइ छ ।
तोकिएको मितिमा आवेदन नपरेपछि ज्ञान केन्द्रले केही दिनका लागि आवेदनको म्याद थप्ने तयारी गरेको निमित्त प्रमुख रानाले बताए । कार्यालयले आँप खेतीका लागि कृषक समूह, कृषि सहकारी, जल तथा वन उपभोक्ता समिति, कृषि फार्म वा कम्पनीलाई प्रस्ताव पठाउन आह्वान गरेको थियो ।
आँप ब्लक सञ्चालनका लागि गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरूलाई पटक–पटक जानकारी गराइए पनि गाउँका किसानसम्म सूचना नपुगेको गुनासो छ । छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले आँप ब्लक सञ्चालनका लागि कृषि शाखामार्फत किसान र कृषक समूहमा जानकारी पठाइएको जनाए । आँप ब्लक सञ्चालनका लागि ठुलो क्षेत्रफल आवश्यक पर्ने भएकाले थप छलफल आवश्यक रहेको उनले बताए ।
सुब्बाले खाली रहेका सामुदायिक वनमा समेत आँप खेती विस्तारको सम्भावना अध्ययन गरिरहेको जनाउँदै बिरुवा र प्राविधिक सहयोग गरेर आँप प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बताए ।
ज्ञान केन्द्रले छथर जोरपाटी–३, ४ र ५ को तल्लो क्षेत्रमा यो कार्यक्रम सञ्चालनको तयारी गरेको हो । वडा नम्बर ४ का अध्यक्ष टेकबहादुर तामाङले आँप खेती सञ्चालनको मोडेल स्पष्ट नभएकाले अन्योल भएको बताए । उनले आँप ब्लक कार्यक्रमका लागि किसान र सरकारी निकायको लगानी मोडेल तथा अन्य प्राविधिक विषयमा बुझिरहेको जानकारी दिए ।
छथर जोरपाटी गाउँपालिकाको सिंभूवा, बन्चरे, पाथीभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा र ताम्लिङ क्षेत्रमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । ज्ञान केन्द्रले सोही जग्गा उपयोगमा ल्याउन आँप विकास ब्लक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
यो क्षेत्रमा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालनका लागि औद्योगिक ग्राम निर्माण गरिएको छ । यस्तै, धनकुटा सदरमुकामबाट २३ किलोमिटर कालोपत्रे सडक पनि विस्तार भइसकेको छ ।
