बाजे वर्णसिंह र नाति प्रेमराजबीच भनाभन भएको र सोही विवादका क्रममा वर्णसिंहले प्रेमराजलाई छुरी प्रहार गर्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर — ८२ वर्षीय हजुरबा (बाजे)ले छुरी प्रहार गर्दा नातिको ज्यान गएको छ । घरायसी विवादमा फाल्गुनन्द गाउँपालिका–७ आङसराङका वर्णसिंह आङदेम्बेले छुरी हान्दा ३६ वर्षीय नाति प्रेमराज आङदेम्बेको मृत्यु भएको हो ।
गत बिहीबार दिउँसो बाजे वर्णसिंह र नाति प्रेमराजबीच भनाभन भएको र सोही विवादका क्रममा वर्णसिंहले प्रेमराजलाई छुरी प्रहार गर्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
छुरी प्रहार गर्ने वर्णसिंहलाई आइतबार पक्राउ गर्नुका साथै प्रेमराजको शव प्रकृति मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फिदिममा ल्याइएको पाँचथरका प्रहरी प्रमुख (डीएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
