शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, छाला रोग, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास रोग, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सेवा रहेका थिए ।
धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरमा १५ सय जनाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको छ ।
जितपुर बजारमा सञ्चालित स्वास्थ्य शिविरमा हाडजोर्नी, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चिकित्सा, छाला रोग, आँखा, जनरल मेडिसिन, श्वासप्रश्वास रोग, इन्टरनल मेडिसिन, मानसिक स्वास्थ्य र बालरोग सेवा रहेका थिए ।
यस्तै नाक, कान, घाँटी, फार्मेसी, भिडियो एक्स–रे, प्रयोगशाला, इ.सी.जी. (मुटु जाँच), फोक्सो जाँच र दाँत रोग सम्बन्धी सेवा दिइएको थियो । स्थानीय खगेन्द्र नेपालले ग्रामीण क्षेत्रमा सञ्चालित शिविरबाट विपन्न, अशक्त र ज्येष्ठ नागरिकले सेवा प्राप्त गरेको जनाए ।
कमजोर आर्थिक अवस्था भएका र अस्पताल जान नसकेकाहरूलाई स्वास्थ्य शिविरबाट विशेष टेवा पुगेको महालक्ष्मी नगर प्रमुख ध्रुवराज रायको भनाइ छ । शिविर काठमाडौंस्थित निजामती अस्पताल र महालक्ष्मी नगरपालिकाको सहकार्यमा २ दिनसम्म चलेको थियो ।
