घुन्साका प्रहरीलाई माइनस १० डिग्री थेग्ने स्लिपिङ ब्याग

भौगोलिक विकटता र कठ्याङ्ग्रिने जाडोमा केही सहयोग पुगोस् भनेर सहयोग स्वरुप प्रदान गरेको पालिकाले जनाएकाे छ ।

मंसिर २६, २०८२

आनन्द गौतम

Sleeping bag for Ghunsa police to withstand minus 10 degrees

ताप्लेजुङ — ३१ सय मिटर उचाइमा रहेको फक्ताङलुङ गाउँपालिका-६ लेलेप घुन्साका प्रहरीलाई गाउँपालिकाले स्लिपिङ ब्याग उपलब्ध गराएको छ ।

पुस र माघमा अधिक चिसो हुने यहाँ प्रहरीले गाउँमै बस्नुपर्ने भएकाले न्यानोकालागि स्लिपिङ ब्याग उपलब्ध गराएको गाउँकार्यपालिका सदस्य मिङमाडण्डु शेर्पाले जानकारी दिए ।

पालिकाले उपलब्ध गराएको स्लिपिङ ब्याग माइनस १० डिग्रीसम्मको तापक्रममा न्यानो प्रदान गर्न सक्ने बनाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । ‘हामी घुन्सा गएको बेला प्रहरी चौकीमा छिरेको थियौं। ओढ्ने, ओछ्याउनेको त निक्कै नै दु:ख रहेछ,’ गाउँपालिका अध्यक्ष लिम्बूले भने, ‘त्यहाँबाट काठमाडाैंमा अर्डर गरेर बनाउन लगायौँ ।’ एउटा स्लिपिङ ब्याग बनाउन सात हजार रुपैयाँ खर्च लागेकाे उनले बताए ।

कार्यपालिका सदस्य सेराप शेर्पा मार्फत म‌ंगलबार पाँच वटा स्लिपिङ ब्याग प्रदान गरिएको हो । फक्ताङलुङ गाउँपालिकाको ३१ सय मिटर उचाइका ओलाङचुङगोलामा सीमा प्रहरी चौकी, सशस्त्र प्रहरी बेसक्याम्प र घुन्सामा इलाका प्रहरी कार्यालय रहेको छ ।

११ जनाको दरबन्दी भए पनि प्राय: पाँच जना बस्ने गरेको सूचनाका आधारमा र आफूले अनुगमनका क्रममा पनि त्यहीँ देखेकाले पाँच वटा प्रदान गरिएको अध्यक्ष लिम्बूले बताए । यी स्लिपिङ ब्याग प्रहरी कर्मचारी सरुवा गएपछि त्यहीँ चौकीमा छोड्ने गरी उप्लब्ध गरिएको मिङमाडण्डु बताउँछन् ।

सदरमुकाम फुङलिङबाट तीन दिनमा मात्रै पुगिने घुन्सामा दुईदिन पैदल हिँड्नु पर्छ । पैदल हिँड्नुपर्ने वा बोकाएर लैजाँदा ढुवानी भाडा वढी पर्ने भएकाले अस्थायी रुपमा बस्नेहरू धेरै सामान लैजान रुचाउँदैनन् । एक सुरक्षाकर्मीले भने, ‘रुचाएर पनि  के गर्ने ६ महिना वर्षदिनमा फर्कँदा सामान लिएर हिँड्‌न गारो हुन्छ ।’ यस पटकको स्लिपिङ ब्याग पर्यटक लिन काठमाडाैंबाट घुन्सा जाने हेलिकप्टरसँग समन्वय गरेर सिधैं पठाएको मिङमाडण्डुले बताए ।

कञ्चनजङ्घा आधार शिविर जाने पर्यटकको सहयोगार्थ तथा स्थानीयको सुरक्षाका लागि यहाँ प्रहरी कार्यालय राखिएकाे हाे । पहिला सीमा प्रहरी चौकीको रुपमा रहेको यसलाई अहिले इलाका प्रहरी कार्यालय बनाइएको छ । भौगोलिक विकटता र कठ्याङ्ग्रिने जाडोमा केही सहयोग पुगोस् भनेर पालिकाले सहयोग स्वरुप प्रदान गरेको पालिकाले जनाएकाे छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully