धरान खेलकुद मञ्चको आयोजनामा सञ्चालन भएको यो महोत्सव पुस १० गतेसम्म चल्नेछ ।
काठमाडौँ — धरानमा पहिलो पटक धरान खेलकुद महोत्सव २०८२ बिहीबारदेखि भव्य रूपमा सुरु भएको छ ।
'खेल गति नै खेलाडी र राष्ट्रको प्रगति हो, हाम्रो अभियान खेलाडीको सम्मान' भन्ने नारासहित धरान–१६ स्थित रंगशालामा महोत्सव सुरु भइरहेकाे हाे । धरान खेलकुद मञ्चको आयोजनामा सञ्चालन भएको यो महोत्सव मंसिर २५ देखि पुस १० गतेसम्म चल्नेछ ।
महोत्सवको दोस्रो दिन शुक्रबार गायिका एलिना चौहान र गायक प्रताप दासकाे प्रस्तुति रहेकाे आयाेजकले जनाएकाे छ ।
महोत्सवमा फुटबल, गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायतका विभिन्न खेलका प्रदर्शनी स्टल राखिएका छन् । साथै खानेकुराका स्टल, सांगीतिक प्रस्तुति, तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ । उद्घाटन समारोहमा नेपाली फुटबलका पूर्वकप्तान राजु शाक्यले महोत्सवको सुरुवात गरेका थिए ।
धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवलाई धरानको गौरबको रूपमा सफल बनाउन सबैको साथ आवश्यक रहेको बताए । विगतमा निरन्तरता नपाएको धरान मेयर कप स्कूल ओलम्पिक्सलाई पुनः सुरु गर्दै यस वर्ष ‘धरान मेयर कप स्कूल ओलम्पिक फेस्टिबल २०८२’ आयोजना गरिएको जानकारी उनले दिए ।विद्यालय नै प्रतिभा प्रस्फुटन र खेलाडी उत्पादनको मूल थलो भएकोले विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्य महोत्सवको केन्द्रबिन्दु रहेको अध्यक्ष राईले बताए ।
धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित यस महोत्सवले स्थानीय खेल संस्कृतिको प्रवर्द्धन र खेलकुद विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको अध्यक्ष राईले बताए ।
