धनकुटामा वैदेशिक रोजगारीका सम्भावित जोखिम बुझाउन घुम्ती क्लिनिक

वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, श्रमस्वीकृति, रोजगारदाता मुलुक र त्यहाँको कम्पनीका बारेमा जान्नुपर्ने आधारभूत ज्ञानकाबारेमा सचेतना कक्षा सञ्चालन गरिएको हो ।

मंसिर २३, २०८२

विनोद घिमिरे

Mobile clinic in Dhankuta to explain potential risks of foreign employment

What you should know

धनकुटा — धनकुटा नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीमा जान चाहनेले अपनाउनुपर्ने सावधानी, कानुनी प्रावधान र सचेतनाबारे घुम्ती क्लिनिक सञ्चालन गरिएको छ ।

सुरक्षित आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था र तिनका नेपाली साझेदारसँगको सहकार्यमा धनकुटा नगरपालिकामा सुरक्षित आप्रवासनसम्बन्धी परियोजना सञ्चालनमा छ ।

धनकुटा नगरपालिकाभित्रका विभिन्न ९ वटा वडा र यहाँ सञ्चालित केही सामुदायिक विद्यालयमा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, श्रमस्वीकृति, रोजगारदाता मुलुक र त्यहाँको कम्पनीका बारेमा जान्नुपर्ने आधारभूत ज्ञानका बारेमा सचेतना कक्षा सञ्चालन गरिएको हो ।

घुम्ती क्लिनिकमा रोजगारीका लागि विदेश जाँदा लाग्ने रकम, एजेन्ट र कम्पनीबाट नेपाल र विदेशमा ठगिए कहाँ उजुरी गर्ने, अलपत्र पर्दा कसलाई सम्पर्क गर्ने तथा कानुनी सहयोग आवश्यक पर्दा अपनाउनुपर्ने प्रक्रियाका बारेमा शिक्षक, विद्यार्थी र तिनका अभिभावकलाई जानकारी गराइएको छ ।

वैदेशिक रोजगारीका नाममा हुनेगरेको ठगीका विभिन्न पक्ष वैदेशिक रोजगारीका क्रममा हुने मृत्यु, अंगभंग र बिरामीले पाउने आर्थिक सहयोग र परिपुरणका बारे पनि जानकारी गराइएको आप्रवासी स्रात केन्द्र धनकुटाकी मञ्जु राईको भनाइ छ ।

धनकुटाबाट २०७७ साल यता मात्रै वैधानिक बाटोबाट २७ हजार १ सय ८३ जना वैदेशिक रोजगारीका लागि मलेशिया, खाडीका विभिन्न मुलुक र यूरोप पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । 

वैदेशिक रोजगारीमा गएका २७ हजार १ सय ८३ मध्ये ५ हजार ४ सय २ जना महिला छन् । यो बीचमा १ हजार १ सय ४२ जना विभिन्न कारणले रोजगारी गुमाएर स्वदेश फर्किका छन् ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully