एक्स्पो आयोजनाका संयोजक अनिलकुमार सारडाका अनुसार यसपटक एक्स्पोमा २ सय ३० देखि २ सय ५० सम्म स्टल रहनेछ ।
विराटनगर — मोरङ उद्योग-व्यापार संघको आयोजनामा विराट ट्रेड एक्स्पो २०२५ पुस ९ देखि १९ गतेसम्म विराटनगरमा हुने भएको छ। करिब ३० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो एक्स्पो यस वर्ष झनै भव्य र व्यवस्थित हुने आयोजकले जनाएको छ।
एक्स्पो आयोजनाका संयोजक अनिलकुमार सारडाका अनुसार यसपटक एक्स्पोमा २ सय ३० देखि २ सय ५० सम्म स्टल रहनेछ । भारत, बंगलादेश, पाकिस्तानलगायत देशका व्यवसायीहरूको समेत उपस्थिति रहने तयारी गरिएको छ। हालसम्म २६ स्टल बिक्री भइसकेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार एक्स्पोले जेन्जी आन्दोलनपछि सुस्ताएको व्यापारलाई फेरि चलायमान बनाउने लक्ष्य लिएको छ। घरेलु, साना, मझौला तथा ठूला कृषि उद्योगदेखि लिएर विविध क्षेत्रका व्यवसायीको सहभागिता रहनेछ।
आयोजकका अनुसार यस वर्ष एक्स्पोमा करिब २ लाख अवलोकनकर्ता भित्रिने अनुमान गरिएको छ। कार्यक्रम सञ्चालनका लागि २ करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान छ भने २५ देखि ३० करोड रूपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ।
२०५३ सालमा कोशी महोत्सवका रूपमा सुरु भएको यो महोत्सव अहिले कोशी प्रदेशको व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण ब्रान्डका रूपमा स्थापित भइसकेको आयोजकले जनाएको छ।
