आफ्नै सिटी सफारी चलाइरहेका दिनेश चौधरीको गत असोज २५ गते साँझ मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरी फरार भएको थियो।
सुनसरी — सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्नहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोजतलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबाले जानकारी दिए।
उनका अनुसार गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि सो समूहले नहर डिलको सडकमा गोली प्रहार गरेको थियो। चौधरी प्र–१–०२–००४ ह ७८०४ नम्बरको आफ्नै सिटी सफारी चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरेर फरार भएका थिए।
पक्राउ पर्नेहरूमा रामधुनी–१, झुम्काका ४३ वर्षीय राजेश भनिने राजकिशोर शाह, सोही ठाउँका ४० वर्षीय नन्दकिशोर शाह, राजविराज–१६ का २८ वर्षीय अङ्कित शाह, सोही ठाउँका २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राह नरसिंह गाउँपालिका–५, सुनसरीका ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगंज गाउँपालिका–४, सुनसरीका ३७ वर्षीय गियास मन्सुरी र देवानगंज गाउँपालिका–५ का २५ वर्षीय मिथिलेस यादव रहेका छन्।
प्रहरीका अनुसार हत्याको कारण आर्थिक लेनदेनको विषय रहेको खुलेको छ।
