जिपलाइनको लम्बाइ ५ सय मिटर रहनेछ। जिपलाइनसँगै दुवैतर्फ निर्माण गरिने भ्यु-टावरबाट सगरमाथासहितका हिमश्रृंखला अवलोकन गर्न सकिने छ।
सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथामा अवस्थित सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा पहिलो पटक जिपलाइन निर्माण कार्य सुरु भएको छ । नेचासल्यान-१ स्थित गौरीटापमा निर्माण हुने जिपलाइनको शिलान्यास पूर्वपर्यटनमन्त्री बलबहादुर के.सी., गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राईले संयुक्त रूपमा गरेका हुन्।
निर्माण हुने जिपलाइनको लम्बाइ ५ सय मिटर रहनेछ। जिपलाइनसँगै दुवैतर्फ निर्माण गरिने भ्यु-टावरबाट सगरमाथासहितका हिमश्रृंखला अवलोकन गर्न सकिने छ। भ्यु-टावरमा २०-२५ जनासम्म बस्ने क्षमता रहने बताइएको छ।
गाउँपालिका अध्यक्ष धनजन राईका अनुसार जिपलाइनसँगै रक क्लाइम्बिङ र करिब ४५ मिटर लामो साइकलिङ स्पटसमेत निर्माण गरिने छ। जिपलाइन निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
निर्माण कार्यको जिम्मा सिन्धुपाल्चोकस्थित कालिका निर्माण सेवाले पाएको छ र कम्पनीले छिट्टै जिपलाइन सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
गाउँपालिका उपाध्यक्ष विना राईले भने, पर्यटन पूर्वाधार विकाससँगै नेचासल्यानलाई सदरमुकाम तथा राजधानीसँग जोड्ने वैकल्पिक सडक निर्माण पत्तालेमार्फत अगाडि बढाइने छ। जिपलाइन र सडक दुवै सञ्चालनमा आएपछि आन्तरिक पर्यटन बढ्ने र स्थानीयको आर्थिक आम्दानीमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले जिपलाइन निर्माण चालु आर्थिक वर्षको महत्त्वपूर्ण कार्यक्रममध्ये एक भएको बताए।
