राम्चेका १०४ घरपरिवार खानेपानीकै लागि ३ घण्टाको ओरालो बाटो हिँडेर सुनकोशी नदी पुग्नुपर्छ ।
What you should know
उदयपुर — कटारी नगरपालिका–१० राम्चेकी ६२ वर्षीया विष्णुमाया परियार सात वर्षको उमेरदेखि खानेपानीकै लागि दैनिक ७ घण्टा समय खर्चंदै आएकी छिन् ।
‘खानेपानी लिनकै लागि ३ घण्टा हिँड्नुपर्छ, गाग्रीमा पानी बोकेर उकालो आउँदा खुट्टा फतक्क गल्छन्,’ उनी अनुभव सुनाउँछिन्, ‘अब त बुढेसकाल लाग्यो, शरीरले पनि साथ दिन छाड्यो, राम्रोसँग हिँड्न सक्दिनँ ।’
विष्णुमायासहित राम्चेका १०४ घरपरिवार खानेपानीकै लागि ३ घण्टाको ओरालो बाटो हिँडेर सुनकोशी नदी पुग्नुपर्छ । ‘आफूलाई खान, गाईबस्तुलाई दिन, थालभाँडा माझ्न, ट्वाइलेट गर्न दिनको ३/४ चोटि पानी बोक्नुपर्छ, कुवामा पालो पर्खिनुपर्छ,’ राम्चेकी धनकुमारी परियार भन्छिन्, ‘यही ठाउँमा जन्मिएर यही ठाउँमा हुर्कियौं, अब बुढेसकालमा कहाँ बसाइँ जानु ?’ खानेपानीकै लागि आधा दिन खर्चिनुपर्ने बाध्यताका कारण राम्चेबाट धेरै स्थानीय अन्यत्र बसाइँ सरेर गएको उनको भनाइ छ ।
निर्वाचनका बेला सबै उम्मेदवारले राम्चेमा खानेपानी पुर्याउने चुनावी नारा बनाउने गरे पनि चुनाव जितेपछि सबैले बेवास्ता गर्ने गरेको राम्चेबासीको गुनासो छ । राम्चेकी नरमाया सुनुवार भन्छिन्, ‘वडा, नगरपालिका, प्रदेश, केन्द्र सबै तहको निर्वाचनका उम्मेदवारहरूले यहाँको खानेपानी समस्या समाधान आफ्नो पहिलो प्राथमिकतामा छ भनेर भाषण गर्छन्, तर चुनाव जितेर गएपछि कोही फर्केर आउँदैनन् ।’
पानीको स्रोतभन्दा धेरै माथि बस्ती भएका कारण राम्चेमा खानेपानी पुर्याउन नसकिएको कटारी नगरपालिकाका वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । ‘सोरुङ खोलाबाट राम्चेमा खानेपानी पुर्याउन नगर र प्रदेश स्तरबाटै प्रयास भयो तर धेरै उकालो र अत्यधिक दुरी टाढा भएका कारण सफल भएन,’ उनले बताए, ‘जनताको सबैभन्दा नजिकको जनप्रतिनिधि वडाध्यक्ष भएकाले सबैभन्दा बढी गाली मैले नै खानुपर्छ, वडाको बजेटबाट सम्भव छैन, प्रदेश र केन्द्र सरकारले चासो देखाएनन् ।’
राम्चेका नागरिकलाई खानेपानी खुवाउन २०७९ सालबाटै सुनकोशी लिफ्टिङ योजना सुरु गरिए पनि गत वर्ष असोज ११ गते आएको बाढीले निर्माण सुरु गरेको संरचना बगाएका कारण योजना प्रभावित भएको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताए । ‘बस्ती नजिकै खानेपानीको स्रोत नभएका कारण सुनकोशीबाट लिफ्ट गरेर राम्चेवासीलाई खानेपानी खुवाउन सरकारको बजेटबाट बहुवर्षीय ठेक्का लागेर योजना सुरु भएको थियो तर बाढीले सब तहसनहस बनायो,’ उनले बताए ।
