जिल्ला दौडाहामा छन् साम्पाङ

निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र लिएपछि श्रम संस्कृति पार्टीले कोशीबाहिरका जिल्लामा संगठन विस्तार गर्दै आज हेटौंडामा सभा गर्दै छ ।

मंसिर २०, २०८२

अर्जुन सुवेदी

Sampang is in the district race.

सुनसरी — धरान उपमहानगर प्रमुख हर्क साम्पाङले आफ्नै नेतृत्वमा गठन गरेको ‘श्रम संस्कृति पार्टी’ सङ्गठन विस्तारमा व्यस्त छ ।

निर्वाचन आयोगबाट ‘श्रम संस्कृति पार्टी’ दर्ताको प्रमाणपत्र लिएलगत्तै सङ्गठन विस्तारका लागि विभिन्न जिल्ला दौडाहामा व्यस्त रहेका अध्यक्ष साम्पाङले आजबाट कोशी प्रदेशबाहिरका जिल्लामा अभियान सुरुवात गर्दै छन् । यसअघि कोशीका जिल्लामा सङ्गठन विस्तार र चुनावी अभियान तीव्र बनाएका साम्पाङले आज मकवानपुरको हेटौंडामा सभा गर्दैछन । हेटौंडास्थित हुप्राचौरमा सभा हुने श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घलेले जानकारी दिए ।

सभालाई सम्बोधन गर्न साम्पाङ आज बिहानै हेटौंडा पुगिसकेका छन् । साम्पाङको पार्टीले कात्तिक १८ गते पाँचथरको फिदिम, मङ्सिर ११ मा ताप्लेजुङ, १२ मा तेह्रथुम, १३ मा संखुवासभामा, १५ मा झापाको दमक र मङ्सिर १७ गते बराहक्षेत्रमा सभा गरिसकेको छ ।

अध्यक्ष साम्पाङको पार्टींले हेटौंडापछि आइतबार चितवनको नारायणी किनारमा, २२ गते काठमाडौँ, २३ गते काभ्रे, २७ गते खोटाङ र पुस ५ गते बुटवलमा कार्यक्रम गर्ने मिति तय गरेको प्रवक्ता घलेले जानकारी दिए । श्रम संस्कृति पार्टी पूर्वमा मात्र केन्द्रित नभएर मेचीदेखी महाकालीसम्म विस्तार गर्ने जनचाहना रहेकाले संगठन विस्तार अभियानलाई अघि बढाइएको साम्पाङको भनाइ छ ।

तीन वर्षअघि भएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका साम्पाङले कांग्रेस–माओवादी समेतको गठबन्धनलाई पाखा लाउँदै २० हजार ८२१ मत ल्याएर जित हासिल गरेका थिए ।

अर्जुन

Link copied successfully