साकेला गाउँपालिकामा फ्रि–वाइफाइ

गाउँपालिकाले वडा नम्बर–५ मात्तिमस्थित गाउँपालिकाको प्रवेशद्वार, साप्सुखोला, मानेभन्ज्याङमा फ्रि–वाइफाइ सेवाको पहुँच विस्तार गरेको छ ।

मंसिर १७, २०८२

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि–वाइफाइ सेवा विस्तार गरेको छ । गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरूमा फ्रि–वाइफाइ सेवा उपलब्ध गराएको हो ।

गाउँपालिकाले वडा नम्बर–५ मात्तिमस्थित गाउँपालिकाको प्रवेशद्वार, साप्सुखोला, मानेभन्ज्याङमा फ्रि–वाइफाइ सेवाको पहुँच विस्तार गरेको छ । 

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँगको साझेदारीमा गाउँपालिकाले उक्त स्थानहरूमा एक हजार एमवीपीएस क्षमताको फ्रि–वाइफाइ विस्तार गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताएका छन् । वडा नम्बर २ रतन्छास्थित साकेलाथान पार्क र तावाभन्ज्याङ क्षेत्रमा समेत फ्रि–वाइफाइ जडान गर्ने तयारी गरिएको राईले बताएका छन् । फ्रि–वाइफाइ सेवाको उपलब्धतासँगै उक्त क्षेत्रहरूमा सीसी क्यामेरासमेत जडान गरिएको छ । विभिन्न पूर्वाधारहरू निर्माणसँगै गाउँपालिकाले उक्त स्थानहरूको गतिविधिको नियमित निगरानीका लागि सीसी क्यामेरा राखेको हो । 

गाउँपालिकाको केन्द्रमा बसेर उक्त ठाउँहरूको गतिविधिको निगरानी गरिने राईको भनाइ छ । ‘निःशुल्क वाइफाइ सेवाले इन्टरनेटको पहुँच नपाएका साकेलावासी नागरिक, विद्यार्थी तथा बाहिरबाट घुम्न आउने पाहुनाहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ,’ राईले भने, ‘यसले अनलाइन कक्षा, ई–लाइब्रेरी, अनुसन्धान सामग्री तथा नयाँ–नयाँ प्रविधि सिक्न चाहनेहरूका लागि उपयोगी हुने छ ।’

डिजिटल पर्यटन प्रवर्द्धन, स्मार्ट पालिका निर्माण तथा डिजिटल साक्षरता विस्तारलाई पनि लक्षित गर्दै फ्रि–वाइफाइको सेवा जडान गरिएको राईले सुनाए । आगन्तुकहरूले ठाउँ विशेषको जानकारी, डिजिटल नक्सा, अनलाइन पेमेन्ट तथा अन्य डिजिटल सेवा सहजै प्रयोग गर्न पाउने भएकाले फ्रि–वाइफाइ सेवाले पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पर्ने राईले जनाएका छन् । 

प्रविधिमैत्री सेवामा लगानी गर्दै साकेला गाउँपालिका ‘स्मार्ट पालिका’को अवधारणालाई मूर्तरूप दिन फ्रि वाइफाइ सहितको प्रविधि विस्तारले भविष्यमा स्मार्ट सीसीटीभी, डिजिटल सूचना बोर्ड, अनलाइन सेवा प्रवाहलगायतका प्रणाली कार्यान्वयन गर्न सहज हुने राईको भनाइ छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully