कहिले पूरा होला ढुङ्ग्रेबासीको बिजुली बाल्ने सपना ?

विद्युतीकरणको काम समयमै सम्पन्न गर्न नसक्दा आफूहरूले जनताको आक्रोश सहनुपरेको उदयपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष मनोजकुमार कार्कीले बताए ।

मंसिर १६, २०८२

राकेश नेपाली

When will the dream of the residents of Hungre come true?

What you should know

उदयपुर — उदयपुरगढी गाउँपालिका–४ ढुङ्ग्रेकी पानमाया मगरको घरमा बेलुका अँधेरो नहुँदै खाना पाक्छ । किनकि, राती खाना पकाउन उनको घरमा बिजुली छैन । ५८ वर्षीया पानमाया र उनका ६३ वर्षीय श्रीमान् बुर्जमान मगर दुवै जना बोल्न सक्दैनन् । कमजोर आर्थिक अवस्थाका उनीहरूसँग घरमा सोलार राख्ने पैसा पनि छैन । ४८ वर्षीया लुद्री मगरको घरमा पनि सोलार छैन । राती यताउता हिँड्नुपर्दा उनीहरू अगुल्टो, बाँसको भाटा र सल्लाको दियालो प्रयोग गर्छन् ।

पानमाया र लुद्री मगरजस्तै ढुङ्ग्रेका ५५ घरधुरी अहिले अन्धकारमा जीवन बिताइरहेका छन् । 

‘आफू नमर्दै गाउँमा झिलिमिली बिजुली बलेको देख्न पाए मन कति फुरुङ्ग हुन्थ्यो होला, अब त आश पनि मर्न थालिसक्यो,’ ७९ वर्षीय होमबहादुर मगर दुखेसो पोख्छन् । उनलाई बिजुलीको उज्यालोमा नाति–नातिनाहरूसँग खेल्न मन छ । ‘धमिलो हुँदै गएको आँखाको शक्ति बिजुलीको उज्यालो देख्न पाउँदा चम्किन्थ्यो कि ?,’ उनी बताउँछन् । 

उदयपुरगढी गाउँपालिकाको सबै बस्तीमा सामुदायिक विद्युतीकरणमार्फत बिजुली बाल्ने योजना २०७६ सालबाट सुरु भयो । तर, ६ वर्ष बितिसक्दा पनि पालिकाका सबै बस्तीमा बिजुली पुग्न सकेको छैन । वडा ४ को ढुङ्ग्रे र डुम्रेसहित वडा ३ को साइपा, सानो रातमाटे, मबटे, पानी घट्टा, लप्सेमा पनि बिजुली पुगेको छैन । 

ग्रामीण सामुदायिक विद्युतीकरणमार्फत बिजुली बाल्ने अभियान सुरु गरिए पनि उदयपुरगढी गाउँपालिकाको वडा ३ र ४ का धेरै बस्तीमा बिजुली पुगेको छैन । मुख्य लाइनका लागि पोल गाड्ने र तार टाँग्ने काम सकिएको वर्षौं भए पनि शाखा तार र पोल विस्तार गर्ने, ट्रान्सफर्मर राख्ने र मिटर बक्स वितरण गर्ने काम अलपत्र छ । 

‘३ वर्षअघि नै प्रतिपरिवार १२ हजारदेखि ३० हजारसम्म नगद उठाएर गाउँपालिकामा बुझाएका छौं, तर बिजुली आउने अहिलेसम्म टुङ्गो छैन,’ उदयपुरगढी गाउँपालिका–४ ढुङ्ग्रेका अर्जुनबहादुर आलेमगरले भने, ‘बिजुली आउने भनेपछि गाउँलेहरू सबैले पोल गाड्ने, तार तान्ने काममा ठेकेदार पक्षलाई सहयोग गरे, तर अहिले निर्माण कम्पनीका कोही प्रतिनिधि गाउँ आएका छैनन् ।’When will the dream of the residents of Hungre come true?

ठेकेदारको लापरबाहीका कारण वडा ३ र ४ का २ सय ५० घरधुरी हालसम्म अँध्यारोमा बस्न बाध्य भएको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी बताउँछन् । ‘सामुदायिक विद्युतीकरणका लागि वाइवा कन्ट्रक्सनले २०७६ देखि काम सुरु गरेर अन्य वडामा बिजुली बालिसक्यो, दोस्रो कम्पनीले भने बीचमै अलपत्र अवस्थामा काम छाडेर बेपत्ता भयो,’ उनले बताए । ठेकेदार पक्ष सम्पर्कमै नआएपछि ठेक्का तोड्नका लागि नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सामुदायिक विद्युतीकरण विभागसमक्ष अनुरोध गरिएको उनले बताए । 

नेपाल विद्युत् प्राधिकरणका डिभिजनल इन्जिनियर नन्दकिशोर मण्डलले ठेकेदार कम्पनी सुनिता एण्ड कबिता कन्टक्सनसँगको सम्झौता सकिएको २ वर्ष भइसके पनि काम सम्पन्न नगरेका कारण ठेक्का सम्झौता रकमको प्रतिदिन ०.५ प्रतिशत कट्टा हुने गरी काम लगाइरहेको बताए । ‘ठेकेदार पक्षलाई समयमै काम सक्न पटक–पटक निर्देशन दिइएको छ, पटक–पटक स्पष्टीकरण सोधिएको छ, पछि भुक्तानीका बेला काट्ने गरी जरिवाना पनि गरिएको छ, अझै काममा ढिलासुस्ती गरे ठेक्का सम्झौता नै रद्द गर्छौं,’ उनले भने । 

विद्युतीकरणको काम समयमै सम्पन्न गर्न नसक्दा आफूहरूले जनताको आक्रोश सहनुपरेको उदयपुरगढी गाउँपालिका–३ का वडाध्यक्ष मनोजकुमार कार्कीले बताए । काम अलपत्र छाडेर बेपत्ता भएको निर्माण कम्पनीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आउन नचाहेको उनले बताए । उदयपुरगढीका अन्य वडामा भने ग्रामीण सामुदायिक विद्युतीकरणमार्फत बिजुली पुगिसकेको गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्काले बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully