फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधिले दुई दिन पैदल हिँडेर समुद्री सतहबाट ३१ सय मिटर उचाइको बस्ती घुन्सा र फलेका स्थानीयलाई सामाजिक सुरक्षा भत्ता पुर्याइदिने गरेका छन्।
What you should know
ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्साकी दाबासाङ्मु शेर्पाले गएको मङ्गलवार सामाजिक सुरक्षा भत्ता बापतको २४ हजार रुपैयाँ बुझिन् । गाउँपालिका अध्यक्ष राजन लिम्बू, वडाध्यक्ष पेम्बाटाँसी शेर्पा र कार्यपालिका सदस्य मिङमाडण्डु शेर्पाको हातबाट उनले गएको वैशाखदेखिको मासिक ४ हजार रुपैयाँका दरले भत्ता रकम नगदै लिएकी हुन् ।
समुद्री सतहबाट ३१ सय मिटर उचाइको बस्ती घुन्सामा रहेकी उनलाई सामाजिक सुरक्षा भत्ता बापतको रकम दिन जनप्रतिनिधिहरू दुई दिन लगाएर तापेथोक र लेलेपबाट गएका हुन् ।
यसअघि गएको वैशाखमा वडाध्यक्ष शेर्पा चैतसम्मको रकम दिएर गएका थिए । गत आर्थिक वर्षको वैशाखदेखि असार र यस वर्षको साउनदेखि असोजसम्मको गरी ६ महिनाको रकम गाउँमै पुगेर हातमा थमाइदिएका हुन् । यसपालि कञ्चनजंघा हिमालको पाङ्पेमा बेसक्याम्प हिँडेका जिल्ला प्रहरी प्रमुख वेदराज गौतम पनि भत्ता वितरणको साक्षी बन्न पुगेका छन् ।
दाबासाङ्मुको परिवारमा सामाजिक सुरक्षा भत्ता पाउने दुई जना छन् । दाबासाङ्मुले जेष्ठ नागरिक र छोरीले अपाङ्गता भत्ता पाइरहेकी छन् । फक्ताङलुङ–७ याङमाका ९६ वर्षीय सुम्जोक शेर्पालाई वडाध्यक्ष छेतेन शेर्पा लामाले सामाजिक सुरक्षा भत्ताको ४९ हजार रुपैयाँ गाउँमै पुगेर दिए ।
उनले पाउने एक वर्षको ४८ हजार र बैंकमा जम्मा भएको ब्याज रकम समेत गरी दिएका हुन् । गाउँपालिकाको केन्द्र तापेथोकबाट तीन दिन र वडा कार्यालय रहेको ओलाङ्चुङगोलााबाट एक दिन पैदल हिँडेर पुगिने याङ्मामा ११ परिवारको बसोबास छ । ४२ सय मिटर उचाइमा रहेको यो बस्तीभरि सामाजिक सुरक्षा भत्ता लिनेमध्ये गाउँमै रहेका उनी एक्लो हुन् ।
दसैं–तिहारजस्ता चाडबाडमा भत्ता नपाए जेष्ठ नागरिकको आँसु लाग्ला भनेर पालिका अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्ष र अन्य जनप्रतिनिधि चनाखो हुन्छन् । चाडवाडका बेला भत्ता पाउने व्यक्ति र उनीहरूका परिवारले पनि बैंकदेखि स्थानीय जनप्रतिनिधिसम्मलाई घचघच्याइरहन्छन् । धेरैजसोले त्यही भत्ताको रकमबाट औषधमुलो र चाडवाड मनाउने गर्छन् ।
चाडवाडको मुखमा भत्ता नपाए वृद्ध–वृद्धाको ठुलो गुनासो हुने भएकाले जनप्रतिनिधिहरू त्यसअघि नै बैङ्कसँग समन्वय गरेर वडा–वडामा पुगेर भत्ता बाँड्ने पनि गर्छन् । तर, घुन्सा, फले, ग्याब्ला, याङ्मा, ओलाङ्चुङगोला, तोक्पेगोला जस्ता हिमाली तथा दूर दराजमा रहेका लाभग्राहीको व्यथा भने फरक छ ।
अरूले चौमासिक रूपमा भत्ता पाउँदा उनीहरू ६ महिनादेखि वर्ष दिनमा बल्ल पाउँछन् । त्यसका लागि नेता (जनप्रतिनिधि)हरू गाउँ आउने दिनको बाटो कुरेर बस्नुपर्ने घुन्साका डण्डु शेर्पा बताउँछन् । ढिलै भए पनि जनप्रतिनिधिले दिएको सेवाबाट आफूहरू खुसी रहेको डण्डुले सुनाए ।
लेलेपका वडाध्यक्ष पेम्बाटाँसीका अनुसार उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिन दुई वटा विधि अपनाइएको छ । सबै लाभग्राहीको खाता बैंकमा खोलिएको छ । भत्ता रकम चौमासिक रूपमा खातामा जम्मा हुन्छ । बैंकसम्म पुग्न सक्नेले तत्कालै निकाल्न पाउँछन् । त्यस्तो सम्भव नभएकाले आफ्नो चेकमा सही गरिदिनुपर्छ । लेख्न नसक्नेले ल्याप्चे लगाइदिनुपर्छ । वडाध्यक्षलाई आफ्नो रकम निकाल्ने अनुमति दिनुपर्छ ।
वडाले बैंकलाई चेकमा सही र ल्याप्चे लगाएकाहरूको रकम दिन अनुरोध पत्र लेख्छ । त्यसको आधारमा बैंकले पैसा दिन्छ । त्यसपछि जनप्रतिनिधि ६ महिनामा एक पटक घर–घरमा पुगेर भत्ता बाँडिदिन्छन् ।
‘एक त हामीले चुनावताका यस्तो प्रतिबद्धता पनि गरेका थियौँ,’ वडाध्यक्ष पेम्बाटाँसीले भने, ‘अर्को कुरा घुन्सा, फलेका धेरैजसो सामाजिक सुरक्षा पाउने अपाङ्गता भएका, हिँड्न नसक्ने छन् । उनीहरूलाई बोकाएर बैंक भएको तापेथोकसम्म बोकिएर आउजाउ गर्न भत्ताको पैसाले नै पुग्दैन । त्यसैले ६ महिनामा ल्याइदिने सहमति गरेका छौँ ।’
वडाध्यक्षले आफू जाने समय निश्चित भएपछि मात्रै बैंकमा गएर पैसा निकाल्ने गरेको बताए । फक्ताङलुङ–७ का छेतेन शेर्पा लामाले भने, ‘कसैलाई पैसा चाहियो भने आफैँ पनि सापटी दिन्छु । छरछिमेकमा सापटी चलाउने वातावरण पनि बनाइदिन्छु । भत्ताको पैसा आउँछ भनेर सापटी दिनेहरूको रकम फिर्ताको जिम्मा मैले नै लिएर भरअभरमा काम चलाउने गरेका छौँ ।’
सामाजिक सुरक्षा पाउने व्यक्ति र तिनका परिवारले यी दुई वडाका वडाध्यक्षलाई भने पहिल्यै विश्वास गरेर हस्ताक्षरसहितको चेक दिइसकेको गाउँपालिका अध्यक्ष लिम्बू बताउँछन् ।
‘भौगोलिक हिसाबले विकट भएकाले दिनभरमा अर्को बस्ती नपुगिने ठाउँ पनि छन्,’ गाउँपालिका अध्यक्ष लिम्बूले भने, ‘वृद्ध–वृद्धाहरू एक/दुई जना घरमा छन् । उनीहरू बैंकसम्म आउन पनि सक्दैनन् । कहाँ जाने, कसरी जाने तरिका पनि जान्दैनन् । उनीहरूलाई सहज होस् भनेर कार्यपालिकाबाटै निर्णय गरेर बैङ्कसँगको समन्वयमा घरसम्म भत्ता पुर्याउने व्यवस्था पालिकाभरि नै मिलाएका छौँ ।’
उच्च हिमालीबाहेकका सेवाग्राहीले चौमासिक रूपमा वा ढिलो भइहाले पाँच महिनासम्ममा भत्ता पाउने गरेको अध्यक्ष लिम्बू बताउँछन् । वडाध्यक्षहरूका अनुसार वडा ६ लेलेपमा २ सय र वडा ७ ओलाङ्चुङगोलामा ५० जना जति सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही छन् । वडा ६ का ५० प्रतिशत जति सेवाग्राही गाउँबाहिर बैंकको पहुँचमा भएकाले आफैँ निकाल्छन् । बाँकीलाई वडाले समन्वय गरिदिनुपर्छ भनी वडाध्यक्षहरूले बताउँछन् ।
