धनकुटामा १ सय १९ मतदानस्थल तय, १६ अति संवेदनशील

मतदान स्थलको टुंगो लागे पनि मतदान केन्द्रको संख्या थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

मंसिर १४, २०८२

विनोद घिमिरे

119 polling stations set in Dhankuta, 16 of which are highly sensitive

What you should know

धनकुटा — आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदानस्थल तय हुने भएका छन् ।

मतदान स्थलको टुंगो लागे पनि मतदान केन्द्रको संख्या थपघट हुन सक्ने जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । निर्वाचन आयोगले आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसपछि मात्रै मतदान केन्द्रको टुंगो लाग्ने जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरज श्रेष्ठले बताए ।

तोकिएका १ सय १९ मतदान स्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।२०७९ को प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा धनकुटामा दुई अस्थायीसहित १ सय ६२ मतदान केन्द्र थिए ।

आगामी निर्वाचनका लागि धनकुटामा ३ हजार २ सय ७२ मतदाता थपिएका छन् । धनकुटामा १ हजार २ सय ८६ जनाले कार्यालयमा र १ हजार ९ सय ८६ राष्ट्रिय परिचयपत्रका माध्यमबाट नाम दर्ता गराएका छन् । थपिएका ३ हजार २ सय ७२ र पुराना १ लाख १७ हजार १० सहित धनकुटामा प्रारम्भिक मतदाता संख्या १ लाख २० हजार २ सय ८२ पुगेको छ । यद्यपि मतदाता संख्या यकिन गर्न मंसिर २० गतेबाट आयोगले मतदाता नामावली अद्यावधिक र दाबी विरोधको प्रक्रिया सुरु गर्दै छ ।

अद्यावधिकको समयमा मृत्यु भएका, दोहोरो नाम परेका हटाउनुका साथै झुटा विवरणविरुद्ध उजुरी लिइने जिल्ला निर्वाचन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरज श्रेष्ठले बताए । आयोगले आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully