जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशंकर यादवका अनुसार विद्युत् सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति भएको हो।
ताप्लेजुङ — ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुमा भञ्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
शुक्रवार दिउँसो करिब ४:३० बजे स्थानीय ३५ वर्षीय डेनी तामाङको घरमा आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशंकर यादवका अनुसार विद्युत् सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति भएको हो।
साब्लाखु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रदीपकुमार विष्टका अनुसार पाँच तले घरको छतमा भने जस्तापाता लगाइएको थियो। त्यही सिरानको तलाबाट लागेको आगो साँझ ६:४० बजे नियन्त्रणमा लिन स्थानीय सफल भएका हुन्। स्थानीयका अनुसार आगो फैलिन नदिन छरछिमेकमा रहेका घरका जस्तापाता निकालिएको थियो।
बजारको सिरानमा १० हजार लिटरका दुई वटा पानीका भरी ट्यांकी थिए। गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड बजार नजिकै रहेको भन्ज्याङ माविमा चलिरहेको थियो। साब्लाखु, थुम्बेदिन, सिनाम, खाम्दिम्बे प्रहरी चौकीका गरी ११ जना प्रहरी समेत भेला भए।
भन्ज्याङ बजारमा जम्मा भएका मानिसहरू, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी, राष्ट्रपति शिल्डमा भेला भएका विद्यार्थी र शिक्षक तथा प्रहरी टोली परिचालित भएपछि अर्को घरमा सर्न नदिई आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
