झुम्का कारागारबाट भागेका ५ जना कैदी धनकुटाबाट पक्राउ

भदौ २४ यता धनकुटाबाट पक्राउ पर्नेमा अदातलबाट अढाइदेखि २५ वर्षसम्म कैद सजाय तोकिएका कर्तव्य ज्यान, अंगभंग र लागूऔषध मुद्दाका दोषी रहेका छन् ।

मंसिर १३, २०८२

विनोद घिमिरे

5 prisoners who escaped from Jhumka Prison arrested in Dhankuta

धनकुटा — गत भदौ २४ गतेको प्रदर्शनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार पाँचजना कैदी धनकुटामा पक्राउ परेका छन् ।

भदौ २४ यता धनकुटाबाट पक्राउ पर्नेमा अदातलबाट अढाइदेखि २५ वर्षसम्म कैद सजाय तोकिएका कर्तव्य ज्यान, अंगभंग र लागूऔषध मुद्दाका दोषी रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष सजाय तोकिएका सुनसरीको धरान उपमहानगरपालिका–२० बस्ने ३२ वर्षीय सागर राईलाई धनकुटाको छथर जोरपाटी गाउँपालिका २ आलेगाउँबाट पक्राउ गरिएको हो । 

यस्तै, कर्तव्य ज्यान, जबरजस्ती करणी र चोरी मुद्दामा २० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका धनकुटाको चौबिसे–२ धारापानीका रमेश माङमी मगर छन् । उनलाई लुकेर बसेको अवस्थामा घरैबाट पक्राउ गरिएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय तोकिएका संखुवासभाको खाँदबारी–९ का युवराज राई भेडेटारबाट पक्राउ परेका छन् । 

यस्तै, अंगभंग मुद्दामा २ वर्ष ६ महिना कैद र २५ जरिवाना तोकिएका चौबिसे–३ का सिजन तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका धनकुटा सहिदभूमि–२ का २१ वर्षीय गन्धरे भन्ने सुरेश शिवालाई घरबाटै पक्राउ परेका हुन् । पक्राउ परेका पाँचै जनालाई कारागारमा बुझाइएको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीको भनाइ छ । 

विनोद घिमिरे घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully