प्रदेशभरि क्षतिग्रस्त ४ सय १ मध्ये १ सय ५४ वडामा प्राथमिकताका साथ सेवा पुनर्स्थापना गर्न सामग्री वितरण गरिँदैछ।
What you should know
विराटनगर — कोशी प्रदेश सरकारले भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रभावित स्थानीय तहहरूको सेवा प्रवाह पुनर्स्थापना गर्न सुरु गरेको विशेष अभियानअन्तर्गत शुक्रबार दुहबी नगरपालिकामा करिब १८ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहबीच नगर प्रमुख वेदनारायण गच्छदारलाई ल्यापटप, दराज, टेबल–कुर्सी, प्रिन्टर, यूपीएस, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सीलगायतका ११ प्रकारका सामग्री हस्तान्तरण गरे ।
प्रदेशभरि क्षतिग्रस्त ४ सय १ मध्ये १ सय ५४ वडामा प्राथमिकताका साथ सेवा पुनर्स्थापना गर्न सामग्री वितरण गरिँदैछ।
कोशी प्रदेशका ३० स्थानीय तहमा ६ करोड १८ लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गर्ने योजना प्रदेश सरकारले सुरु गरेको हो । प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये ३७ तह प्रदर्शनबाट प्रभावित भएका थिए।
मुख्यमन्त्री कार्कीले 'जनताको काम वडाबाट नै हुने भएकाले स्थानीय तहलाई प्राथमिकतामा राखेर सेवा पुनर्स्थापना र क्षमता अभिवृद्धिको अभियान अघि बढाइएको' बताए। उनका अनुसार प्राप्त सहयोग रकमलाई लक्षित वडा तथा कार्यालयहरूमा व्यवस्थित रूपमा वितरण गरिँदै छ। साथै, आगामी १० दिनभित्र सबै सामग्री वितरण सम्पन्न गर्ने जानकारी पनि उनले दिए।
यो सहयोग स्वीस सरकारको विकास सहयोग कार्यक्रममार्फत समन्वय गरी उपलब्ध गराइएको हो। मुख्यमन्त्री कार्कीको पहलमा प्रदेश सरकार र विकास साझेदार निकायबीच समन्वय गरी सामग्री व्यवस्थापन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशीले जनाएको छ।
नगरप्रमुख वेदनारायण गच्छदारले दुहबीमा मात्रै करिब ४ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताउँदै भने, 'प्रदेश सरकारले प्रत्यक्ष रूपमा आएर सामग्री हस्तान्तरण गरेकोले थप हौसला मिलेको छ ।'
प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै सेवा पुनर्स्थापना, पुनर्निर्माण र आधारभूत संरचना विकासलाई द्रुत गतिमा अघि बढाउने नीति अवलम्बन गरेको जनाएको छ।
